खोटाङ, १४ असार । खोटाङमा उत्साहपूर्वक मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा मत खसाल्न मतदाताका उत्साहकाबीच मतदान सुरु भएको हो । जिल्लाका ८ गााउपलिका २ नगरपालिमा ७९ वडाका १७३ मतदान केन्द्रमा मतदान केन्द्रमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विहान ७ बजेबाट सवै मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका १ लाख १५ हजार ६४४ मतदाताले मताधिकार प्रयोग गर्ने निर्वाचन अधिकृत दिनेश खत्रीले जानकारी दिए । जिल्लामा ४१५ जनप्रतिनिधिका लागि १८ जना स्वतन्त्रसहित १ हजार ५६२ जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।
निर्वाचन कार्यालयमा दर्ता भएका १२ दलमध्ये कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा, संघीय समाजबादी फोरम, नयाँ शक्ती, खम्बूवान राष्ट्रिय मोर्चा लगायतका दल चुनावी मैदानमा छन् । निर्वाचनका लागि १३६ मतदान स्थलका हरेक बुथमा आवश्यक सुरक्षा व्यवस्थाको समेत व्यवस्थापन गरिएको छ । वर्षाबाट मतदान प्रकृया प्रभावित हुनबाट जोगाउनका लागि हरेक बुथमा त्रिपालको समेत व्यवस्था मिलाइएको छ । अपांग, अशक्त, गर्भवती महिलालाई भने लाईनमा नबसी मत दिने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ । खोटाङ न्यूजबाट