असार ३० । खोटाङमा श्रीमानले गरेको हतियार प्रहारबाट श्रीमती गम्भिर घाईंते बनेकी छिन् । जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ३६ वर्षीय श्रीमान केदार राईले माईतीमा रहेकी श्रीमति निर्मला राईलाई माईतीमै पुगेर धारिलो हतियार प्रहार गरी गम्भिर घाईंते बनाएका हुन् ।
माईती घर खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा केदारले श्रीमतीलाई बुधबार हतियार सहित आक्रमण गर्नेे श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए । केदारलाई प्रहरीचौकी वाप्लुखाबाट गएको प्रहरीले पक्राउ गरेको हो ।
राईको आक्रमणबाट निर्मलाको टाउको पछाडि तीन ठाउँमा गहिरो चोट लागेको, बायाँ हातको बुढी औंला बाहेक चार औंला काटिए, दायाँ हातको दुई औंला चुँडिएको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका वडाध्यक्ष खड्गबहादुर खत्रीले जनाए । श्रीमानको आक्रमणबाट गम्भीर घाईते भएका निर्मलाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार भइरहेको छ ।
असार १३ गतेदेखि माईती घरमा बस्दै आएकी निर्मलालाई कचिया, कर्द र खुर्पा लगायतका घरेलु हतियारले प्रहार गरिएको स्थानीयले बताएका छन् । राई दम्पत्तीका चार छोरी छन् ।