
खोटाङ ९ साउन । खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा रहेको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थलाको महुरेमा सञ्चालित क्रसर उद्योग सञ्चालनमा रोक लगाईएको छ ।
१३ नम्बर नुन्थला र १४ नम्बर बुइपाको सिमाना तथा ऐतिहासिक महुरेगढीको आसपासमा अवस्थित राँके डाँडामा २ वर्ष अघिदेखि नियम बिपरित ढंगले सञ्चालन गरिएको क्रसर उद्योगलाई रुपाकोट मझुवागढी नगरपालिकाले रोक लगाएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक कालोपत्रेका काम गरिरहेको ठेकेदारले अनाधिकृत रुपमा क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएकाले क्रसर उद्योग अन्यत्र हटाउने निर्णय गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । क्रसर उद्योगले सदियौंदेखि हरेक साउन २ गतेका दिन राँके मेला लाग्ने महुरेको अस्तित्व समेत संकटमा पारेकाले तत्काल क्रसर उद्योग सञ्चालनमा रोक लगाईएको जनाईएको छ ।
क्रसर उद्योगका कारण किरात समुदायको ऐतिहासिक तथा साँस्कृतिक धरोहरका रुपमा रहेको महुरेगढी नजिकैको राँके मेला लाग्ने चौंरमा गिटी र ढुंगा थुप्रिएको छ ।

सुरुमा क्रसर उद्योग सञ्चालनको विरोध गर्दा प्रशासनले समेत सञ्चालनका लागि दवाव दिएको रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । ऐतिहासिक स्थलको प्राकृतिक सौन्दर्य नै बिगार्ने गरी क्रसर उद्योग सञ्चालनमा रोक लगाउन अनेक कोशिष गरे पनि नसकिएको तथा नगरपालिकामा जनप्रतिनिधि चुनिए पछि मात्र क्रसर उद्योगको अशरका विषयमा आवाज उठेको रोकारवाला बताउँछन् ।
अन्यत्रबाट ढुंगा ल्याएर क्रसर उद्योग चलाउने नाममा ठेकेदारले महुरेकै ढुंगा झिकेर प्राकृतिक श्रोतमाथि दोहन समेत गरिरहेको पाइएको छ । क्रसर उद्योग बस्ती नजिक रहेकाले पनि सो स्थानमा राख्नु अनुपयुक्त रहेको नगरपालिकाले जनाएको छ ।