साउन १६ । दुवै मृगौला काम नलाग्ने गरी फेल भएका खोटाङका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार निबासी डिल्लिराज राई बचाउनका लागि सहयोगको याचना गरिएको छ । बनिबुतो गरेर जीवन निर्वाह गरिरहेका निम्न आर्थिक स्तर भएको राईको मृगौला प्रत्यारोपण तथा डायलासिसका लागि परिवारको आर्थिक क्षमता नभए पछि सहयोगको याचना गर्नुपरेको पीडितका बुवा धनराज राईले बताउनुभयो ।
श्रीमति तथा एक नावालिका छोरी समेत रहेको २३ बर्षिय राईको डेढ महिनादेखि काठमाण्डौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि विभिन्न अस्पताल धाउने क्रममा उनको दुवै मृगौला फेल भएको पत्ता लागेको हो । नरनाता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पु¥याउनका साथै औषधी उपचार गरिरहेको बुवा धनराजको भनाई छ । अस्पतालले मृगौला प्रत्यारोपणका लागि ८–९ लाख रुपैंयाँ जम्मा गर्न लगाईरहेको भए पनि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको राईले जनाउनुभयो ।
डिल्लिराज बचाउका लागि हिमालयन बैंक स्वयम्भु शाखा काठ्माण्डौंमा खोलिएको खाता नम्बर ०२५०६९४४७५००१९ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।
सरकारले मृगौलाको उपचारमा छुट गरे पनि औषधिउपचार, खाना, आवासका क्रममा लाग्ने खर्च अभाव भएको आफन्तको भनाई छ । सानैमा आमा गुमाएका डिल्लिराजको परिवारको आफ्नै नाममा कति पनि जग्गा नभएका कारण लाखौं खर्च गर्न सक्ने अवस्था नभएको आफन्त बताउँछन् ।