चितवन, २९ साउन । लगातारको भारी वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ ।

शनिबार दिउँसो २ बजेपछि वर्षात्सँगै ती ठाउँमा पहिरो खसेको हो । पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो सफा गर्न नसकिएको उनले बताए । ठूला पहिरा नभएकाले पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक सफा गरी सवारी सञ्चालनमा ल्याइने यादवले बताए । सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् ।

यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा १४ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार सो सडकको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाटलगायतका १४ स्थानमा पहिरो खसेको छ ।

शनिबार साँझ ६ बजेपछि ती ठाउँमा पहिरो खसेका हुन् । गएराति २ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः पहिरो ठाउँठाउँमा खसेपछि सडक अवरुद्ध बनेको झाले बताए । तीनवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेको झाले बताए ।