काठमाडौं ३० साउन
सरकारले बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिस्वरुप प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप तत्काल प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले तत्काल राहत र उद्धारका लागि सम्बन्धित निकाय र स्थानीय निकायलाई परिचालन हुन निर्देशन पनि दिएको छ ।

यस्तै बैठकले मन्त्रीको एक महिनाबराबरको तलबसमेत बाढीपहिरोबाट प्रभावितहरूलाई राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए ।
उनका अनुसार सरकारले बाढीबाट प्रभावितहरूलाई तत्कालका लागि उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने, राहतस्वरूप खाद्यान्नको बन्दोबस्त गर्ने, क्षतिको एकीन विवरण संकलन गर्ने र प्रभावित स्थानका बासिन्दाहरूलाई दीर्घकालीन रूपमा बसोबासको व्यवस्था गर्ने रणनीति बनाएको छ ।

यस्तै सोमबारबाट प्रधानमन्त्रीसमेत प्रभावित स्थानमा आफैं सहभागी भएर उद्धार तथा राहतमा तीव्रता दिने भएका छन् । बैठकमा बाढीबाट अतिप्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने विषयमा समेत मन्त्रीहरूले प्रस्ताव गरेका थिए । तर सरकारले पछिल्लो अवस्था हेरेर मात्रै सोबारे निर्णय लिने एक मन्त्रीले जानकारी दिए ।