खोटाङ १७ भदौ

नेपाली कांग्रेस खोटाङले स्थानीय तहको निर्वाचनमा पार्टीले हार बिहोर्नुका पछाडी विपक्षीको भ्रम चिर्न नसक्नु रहेको निष्कर्ष निकालेको छ ।
सदरमुकाम दिक्तेलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवारी चयनमा ढिलाई गरिनु तथा कतिपय प्राविधिक विषय मिलाउन नसक्नुले पनि चुनावमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको छ ।
गुट उपगुटले समेत असर गरेको भन्दै खोटाङ कांग्रेसले आगामी प्रदेश र केन्द्रको निर्वाचनमा एक ढिक्का भएर अघि बढ्ने निर्णय समेत गरेको छ ।
कांग्रेसले आगामी २४ भदौमा जिल्लाका सबै गाउँपालिकामा १०३ औं विपी जयन्ती मनाउने निर्णय समेत गरेको छ । बैठकले प्रशिक्षण कार्यक्रम चलाउने निर्णय समेत गरेको छ ।
गत १४ असारमा सम्पन्न दोस्रो चरणको निर्वाचन अन्तर्गत खोटाङका १० स्थानीय तहमध्ये कांग्रेसले ४ वटामा मात्र जित हासिल गरेको थियो ।