काठमाडौं २४ भदौ
नेकपा माओवादी केन्द्रले एकै दिन एक नगरपालिकासहित ३ गाउँपालिकाको काठमाडौं सम्पर्क समिति गठन गरेको छ ।
नेकपा माओवादी केन्द्र खोटाङ सम्पर्क समितिले हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ गाउँपालिका, केपिलाशगढी गाउँपालिका र खोटेहाङ गाउँपालिका सम्पर्क समिति गठन गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको भेलाले रुपकुमार राईको अध्यक्षतमा दिप्रुङ गापा सम्पर्क समिति, देवचन्द्र राईको अध्यक्षतमा केपिलाशगढी गापा सम्पर्क समिति, जसदिप राईको अध्यक्षतामा खोटेहाङ गापा सम्पर्क समिति गठन गरेको माओवादी नेता विनोद आचार्यले जानकारी दिए ।
भेलामा पार्टीको केन्द्रिय सचिवालय सदस्य अमेम्बर राई, पोलिटब्यूरो सदस्यहरु राम कुमार राई, पोलिटब्यूरो सदस्य तथा खोटाङ जिल्ला पार्टी इन्चार्ज ध्रुव बहादुर बुढाथोकी, पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, जिल्ला पार्टी अध्यक्ष देवान चाम्लिङ, केन्द्रिय सल्लाहकार समिति सदस्य डा. विष्णु राई लगायत जिल्ला समिति सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
भेलामा नेपाली जनताको समान अधिकार र खोटाङ विकासलाई समुदायगत रुपमा विकास गर्दै समग्र राज्यलाई विकास गर्ने उदेश्यका साथ त्यसलाई नीतिगत तहमा कार्यान्वयन गर्न निर्विकल्प पार्टी माओवादी केन्द्र नै भएको हुनाले उक्त संगठन निर्माण गरिएको र आगामी प्रदेश र संघको चुनावलाई सहज रुपमा विजय हासिल गर्न नयाँ कार्यसमितिले खेल्नु पर्ने भुमिकाको बारेमा प्रशिक्षण गरिएको थियो ।
खोटाङ सम्पर्क समितिले केही दिन अगाडी मात्र रुपाकोट मझुवागढी नगरपालिका सम्पर्क समिति र जन्तेढुंगा गाउँपालिका सम्पर्क समिति गठन गरेको थियो ।
पछिल्लो पटक माओवादी केन्द्रले आन्तरिक संगठन मजबुत बनाउन संगठन विस्तारको कार्यलाई तिब्रता दिएको छ । जसअन्तर्गत सम्पर्क समिति गठन, प्रशिक्षण तथा बैठकलाई नियमित गर्दै लगेको हो ।