
खोटाङ असोज–१, शेर्पा समुदायको भाषा–संस्कृति संरक्षण तथा प्रबद्र्घन गर्ने उदेश्य बोकेको शेर्पा भाषाको चलचित्र ‘टिन्छेन फमा’ निर्माण भएको छ । आङङिमा शेर्पा कुङगाको निर्देशन तथा शेर्पा म्यूजिक वल्र्ड प्रा.लि.को व्यानरमा उक्त चलचित्र निर्माण सम्पन्न भएको शनिबार एक कार्यक्रमको आयोजना गरी जानकारी गराईएको हो ।
शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठमाडौं स्थित पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रम मार्फत चलचित्रबारे जानकारी गराउँदै निर्देशक शेर्पाले शेर्पा भाषा, संस्कृति जोगाउन अभिभावकको भूमिका कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रले समेटेको बताईन् । कार्यक्रमका प्रमुख अतिथि एबम् आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले देशको मौलिक पहिचान जोगाउने प्रमुख माध्यम भनेको आदिबासी चलचित्रनै रहेको दाबी गरे ।
कार्यक्रमका महासंघका अध्यक्ष सुनुवार लगाएत चलचित्र बिकास वोर्डका अधिकृत आनन्द घिमिरे, नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बरिष्ठ गायक लाक्पा शेर्पाले शुभकामना मन्तब्य राखेका थिए । चलचित्रमा कुङगा शेर्पा, छोङवा शेर्पा, सोनाम याङजी शेर्पा, छिरिङ् डोल्मा शेर्पा लगाएत कलाकारहरुको मुख्य भुमिका रहेका छन् । भने तेन्जिङ् शेर्पा, कुङगा शेर्पा, छोङवा शेर्पा, आङ ङिमा शेर्पा कुङगा चलचित्रका निर्माता रहेका छन् ।
चलचित्रमा अभिनय गरेका कलाकार तथा निर्मातालाई आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार मार्फत प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । चलचित्र टिन्छेन फमा यही असोज २६ गते नेपालको गोपिकृष्ण हल हुदैं देश तथा बिदेशमा प्रदर्शन गर्ने निर्देशक कुङगा ङिमा शेर्पाले बताएकी छन् ।