
केदार मगर
खोटाङ, ३ असोज । जिल्लाका एक हजार २४३ घर भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्ता वापतको रकम लिन पाएका छैनन् । कर्मचारीको ढिलासुस्ती तथा लापरवाहीका कारण मन्त्रालयबाट आएको पहिलो किस्ता वापतको रकम तीन महिना बितिसक्दा समेत लाभग्राहीले लिन नपाएका हुन् ।
खोटाङ, ३ असोज । जिल्लाका एक हजार २४३ घर भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्ता वापतको रकम लिन पाएका छैनन् । कर्मचारीको ढिलासुस्ती तथा लापरवाहीका कारण मन्त्रालयबाट आएको पहिलो किस्ता वापतको रकम तीन महिना बितिसक्दा समेत लाभग्राहीले लिन नपाएका हुन् ।
भूकम्प गएको दुई वर्ष ४ महिना बितिसक्दा पनि पहिलो किस्ता वापतको रकम नपाएपछि लाभग्राहीहरु दैनिकजसो सदरमुकाम दिक्तेल धाउने गरेका छन् । “हामीले वितरण पेश लामो समय बितिसक्यो ।” रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूकम्पपीडित रामबहादुर तामाङले भन्नुभयो, “पहिलो किस्ता वापतको ५० हजार रकम पाउँन १० देखि १५ हजार त आफ्नै खर्च भइसक्यो ।”
पहिलो किस्ता वापतको रकम लिनका लागि सम्बन्धित वडाबाट सबै प्रक्रिया पूरा गरेपनि जिल्ला समन्वय समितिका कर्मचारीले चासो नदिँदा समस्या भएको लाभग्राहीको गुनासो छ । “कर्मचारीहरुले आफन्त हेरेर काम गर्दा रहेछन् ।” नाम नभन्ने शर्तमा एक लाभग्राहीले भने, “सँगै पेश गरेका कतिपय साथीले रकम झिकेको दुई महिना भइसक्यो, हामीले अहिलेसम्म पाएका छैनौं ।”
वडा अध्यक्ष र सचिवले सबै लाभग्राहीको विवरण र सम्झौतापत्र समयमा नपठाएका कारण निकासा दिन कठिनाइ भएको सम्पर्क व्यक्ति तथा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत रविकिरण आचार्यले जानकारी दिनुभयो । “सम्झौता भएर आएकाको तत्कालै काम गरिएको छ ।” उहाँले भन्नुभयो, “प्रक्रिया नै नपुगेकाको रोकिएको छ । हामीले गर्ने काममा कुनै ढिलाइ भएको छैन ।”
आठ हजार ४४३ घर लाभग्राही रहेको जिल्लामा अहिलेसम्म सात हजार २०० घर पीडितले मात्र पहिलो किस्ता वापतको रु ५० हजार रकम लिएको पाइएको छ । रकम लिन बाँकी रहेका एक हजार २४३ घर लाभग्राहीमध्ये ५०० घरको सम्झौता गरेर निकासाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय पठाइ सकिएको सम्पर्क व्यक्ति आचार्यले जानकारी दिनुभएको छ ।
कर्मचारीको लापरवाहीका कारण यसअघि तथ्याङ्क संकलनका क्रममा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र खोटेहाङ गाउँपालिका–५ चिप्रिङका लाभग्राहीको नाम र सम्झौता नम्बर फरक परेको थियो । उक्त दुवै ठाउँका लाभग्राहीलाई दुई महिनापछि विवरण मिलाएर रकम वितरण गरिएको जनाइएको छ ।
पहिलो किस्ता वापतको रकम लिन बाँकी लाभग्राहीले दशैं अगाडि लिन पाउने सम्भावना कम रहेको पाइएको छ । उक्त रकम निकासाका लागि सफ्टवेयर अपडेट गर्ने कालेनिकाका कर्मचारी अन्य कामको लागि हप्ता दिनअघि काठमाडौं गएकाले सम्भावना कम रहेको आचार्यको भनाइ छ ।
जिल्लाका भूकम्पपीडितका लागि वितरण गर्न मन्त्रालयबाट असार पहिलो साता रु ३७ करोड ५१ लाख १७ रकम आएको थियो । पहिलो किस्ता वापतको रकम आगामी कातिक मसान्तभित्रमा वितरण गरी सकिने जनाइएको छ ।