खोटाङ, ५ असोज : नेपाल आदिवासी जनजाति महासंघ खोटाङले जिल्ला समन्वय समितिका पदाधिकारीलाई सम्मान गरेको छ । महासंघले बिहीबार आयोजना गरेको कार्यक्रममा समितिका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमा खत्री, सदस्य चर्चबहादुर विश्वकर्मा लगायतलाई खादा ओढाएर सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा महासंघका अध्यक्ष हात्तीराम राईले जनजातिहरुको अहिलेको अवस्था, चुनौति र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । दिक्तेलस्थित महासंघको कार्यालयमा गरिएको कार्यक्रममा समन्वय समितिले महासंघलाई गर्न सक्ने सहयोगको समेत अपेक्षा गरिएको जनाइएको छ ।
सम्मानपछि प्रमुख चाम्लिङले समितिको तर्फबाट गर्न सकिने आर्थिक, भौतिक र नैतिक सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । “म पनि जनजाति नै हो ।” उहाँले भन्नुभयो, “सबैको हित हुने गरी महासंघ अगाडि बढ्न सकोस् ।”
सम्मान कार्यक्रमपछि आदिवासी जनजातिहरुको सवालका विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । किरात भूमि खोटाङमा क्रियाशील महासंघमा दश थरी जनजातिहरु आवद्ध रहेका छन् ।