काठमाडौं ६ भदौ
स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले खोटाङ जिल्ला अस्पताललाई ५० बेडको बनाउने प्रस्ताव मन्त्रीपरिषदमा पुगेको खुलासा गरेका छन् ।
मन्त्री पोखरेलले खोटाङ काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको कोटेश्वरमा गत मंगलबार आयोजना गरेको प्रशिक्षण तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो जानकारी गराएका हुन् ।
उनले विभिन्न अस्पतालहरुलाई स्तरउन्नती गर्ने क्रममा खोटाङ जिल्ला अस्पतालाई पनि प्राथमिकतामा राखेर ५० बेडको पुर्याउने गरी प्रस्ताव प्रधानमन्त्रीको कार्यालय पुगिसकेको बताए ।
प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेपनि पारित भईनसकेकाले अस्पताल पचास बेडको भनेर प्रचार नगर्न उनले अनुरोध समेत गरे । ‘खोटाङका लागि एउटा खुसीको कुरा पनि छ, अस्पताललाई मैले ५० बेडमा विस्तार गर्ने गरी प्रस्ताव बनाएर क्याबिनेट प्रस्ताव पठाईसकेको छु,’ उनले भने, ‘तर यो पारित भईनसकेकाले अहिले नै जिल्ला अस्पताल ५० बेडको भनेर फेसबुकतिर चई प्रचार नगरिदिनुहोला, ५० बेडको बनाउने निर्णय भएपछि मात्र गरिदिनुहोला अहिले मन्त्रालयबाट प्रस्ताव मात्र पुर्याएको छु ।’
प्रशिक्षणमा उनले ६४ सालको तुलनामा पार्टी संगठन कमजोर बनेको भन्दै संगठन विस्तारमा लाग्न निर्देशन दिएका थिए ।
माओवादी पार्टीको वरिपरी सबै एजेण्डा मात्र नभएर देश नै घुमे पनि जनता माओवादीको वरिपरी नआएको भन्दै यस विषयमा सुक्ष्म ढंगले सोच्न समेत उनले आग्रह गरेका थिए । उनले पाटी, पार्टी जस्तो नभएको र जबसहरु पनि जबसहरु जस्तो नबनेको भन्दै कुलोमा खोलो पसे जस्तो भएको उदाहरण दिएका थिए ।