खोटाङ असोज–९, वैदेशिक रोजगारबाट प्राप्त हुने विपे्रषणलाई उपलब्धीमूलक बनाउन सकियोस् भन्ने उदेश्यका साथ खोटाङ्गको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तिय साक्षरता कक्षा शुरु गरिएको छ ।  बैदेशिक रोजगारबाट प्राप्त हुने आम्दानीलाई बचत गर्दै दीगो आम्दानीका लागि सदुपयोग गर्न सकियोस् भन्ने उदेश्यले उक्त नगरपालिका–५ लफ्याङमा पर्ने छार्का , लुछिम र नर्कटेमा हालै बित्तिय साक्षरता कक्षा शुरु गरिएको हो ।  
जिल्लास्थित बालसेवा समाज नेपाल नेर्पाद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी)  अन्तरगत वैदेशिक रोजगारमा संलग्न घरपरिवारका बिभिन्न सदस्यहरुलाई सहभागि गराई कक्षाको सुरुवात गररिएको साक्षरता कक्षाका सहजकर्ता मिनप्रसाद आचार्यले जनाए । आम्दानी र खर्चको हिसाब, बचत तथा उपलब्धीमुलक लगानीका उपाय लगायत बिभिन्न व्यावहारिक  कुराहरुमा परिर्वतन ल्याउने उदेश्यले वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको जनाईएको छ । सामीसँगको सहकार्यमा बालसेवाले यसअघि पनि सो प्रकारका कक्षाहरु जिल्लाका अन्य स्थानहरुमा सञ्चालन गरिसकेका छन् । सम्पन्न भईसकेका कक्षामा सहभागी बनेका जिल्लाका स्थानीयहरु आफुले ब्यवहारिक ज्ञान लिई प्रयोग गरेकाले पहिलेको तुलनामा आकास पातालको फरकमा बचत तथा लगानी गर्न सकिएको बताउँछन् । 
वैदेशिक रोजगारमा गएको घरपरिवारको सदस्य अथवा बिप्रेषणको प्रयोग गर्ने  निर्णय गर्ने व्यक्तिहरुलाई मात्रसाक्षरता कक्षामा सहभागी गराईन्छ । हप्ताको एक पटक गरेर २८ हप्ता सम्म संचालन हुने साक्षरता कक्षा रुपाकोट मझुवागढी नगरपालिकाका १, २ र ४ मा समेत सञ्चालन हुने बताईएको छ ।