खोटाङ असोज–११,  खोटाङ आवत–जावत गर्ने यात्रुलाई सार्बजानिक यातायात सम्वन्धी कुनै पनि गुनासो भए तत्कालै फोन गरेर जानकारी गराउन अनुरोध गरिएको छ । सार्बजानिक सवारीका क्रममा कुनै पनि गुनासो लागेको भएमा तत्कालै जिल्ला प्रहरी कार्यालयको हटलाइन १०० वा सञ्चार शाखाको मोबाईल नम्बर ९८५२८४९१२१ तथा ट्राफिक प्रहरीलाई ९८६२६९९५०९ मा फोन गर्न प्रशासनले आग्रह गरेको हो । 
दशैं तिहारमा हुने यात्रुको चाप तथा असुबिधालाई मध्येनजर गर्दै यातायात सेवालाई यात्रुमैत्री बनाउनका लागि जिल्ला सुरक्षा समितिले बिशेष अभियान शुरु गरेको छ ।  यातायात व्यवसायीले चाडपर्व मनाउनका लागि घर आउने यात्रुबाट तोकिएभन्दा बढि भाडा असुल्ने, क्षमताभन्दा बढि यात्रु राख्न गरेको पाइएकाले मध्यपहाडी लोकमार्ग दिक्तेल–हलेसी–जयराम अन्तरगतका च्यास्मीटार, हलेसी, अर्खौले, नुनथला प्रहरीचौकीमार्फत अभिलेख सहित चेकजाँच गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । 
दिक्तेल–जयरामबीचमा आकस्मिक निरीक्षण गर्ने, चालकले मादक पदार्थ सेवन गरे–नगरेको चेकजाँच गर्ने, टाईमकार्डलाई कार्यान्वयनमा अनुगमन गर्ने काम थालिएको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीको भनाई छ ।