खोटाङ असोज–२९, खेल क्षेत्रमा स्थापित हुन सक्षम युवा तथा बालबालिका प्रशस्त भए पनि उचित मैदान अभावमा थच्चिएर बस्नुपर्ने बाध्यतालाई मध्येनजर गर्दै खोटाङका लफ्याङबासी अन्र्तराष्ट्रिय स्तरको खेल मैदान निर्माणको पहलमा जुटेका छन् । जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खेलका बिबिध बिधामा सक्षम तथा सम्भावना बोकेका युवा तथा बालबालिका उल्लेख्य रुपमा भए पनि मैदान अभावमा प्रतिभा दबाएर राख्नुपर्ने बाध्यतालाई चिर्न अन्र्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण अभियानमा सबै वडाबासी जुटेका हुन् । 
खेलकुद सबैको रुचिका बिषय बने पनि लगानीमा चासो नदिईएकाले अधिकांश खेल प्रतिभाहरु बिलाएर जाने हुनाले खेल मैदानको आवश्यक्ता बनेको उक्त खेल मैदान निर्माण अभियन्ता तथा नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । राज्यले समेत खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा राखेकोप्रति गुनासो गर्ने राईले खेलकुदलाई ब्यवसायिक बनाउन समेत उचित खेल मैदानहरुको निर्माण हुनुपर्ने जनाए । खेलकुद तथा अन्य सिर्जनात्मक गतिबिधिमा ब्यस्त हुने वाताबरण नबन्दा सम्भावना बोकेका युवाहरु समेत कुलत तथा दुब्र्यसनीमा फस्दै गएको अवस्थामा शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि खेलकुद र खेलकुदका लागि उचित मैदानको आवश्यक्ता रहेको खेलकुद अभियन्ता सञ्जयले उल्लेख गर्दै आएका छन् । अन्य बिकसित मुलुक र हाम्रो देशमा खेल तथा खेलाडीलाई हेर्ने दृष्टिकोणमा आकासपातालको अन्तर भएको जनाउँदै स्थानीय स्तरबाटै यसको बिकासमा लाग्नुपर्ने राईले बताए । 
लफ्याङको बीच भागमा पर्ने माझागाउँमा अन्र्तराष्ट्रिय मापदण्डको खेल मैदान निर्माणका लागि समाजसेवी गिरिराज राईको संयोजकत्वमा १९ सदस्यीय खेल मैदान ब्यवस्थापन समिति गठन गरी प्रक्रिया अगाडी बढाईएको छ । खेल मैदान निर्माण अभियानमा जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि, शिक्षक, युवा, बृद्घबृद्घा, खेलाडी तथा समस्त खेलप्रेमी एक जुट भएको खेल मैदान ब्यवस्थापन समितिका संयोजक गिरिराज राईले उल्लेख गरे । 
खेल मैदान निर्माणका लागि जग्गादाता लगायत देश बिदेशमा रहेका जिल्लाबासी तथा अन्य स्रोतको खोजी गर्ने ब्यवस्थापन पक्षले जनाएको छ । 
जग्गा माग्न अपनाईयो परम्पारागत रीति

अन्तराष्ट्रिय स्तरको खेल मैदान निर्माणका लागि जग्गादानको बोलकबुल गर्ने स्थानीय समाजसेवीलाई परम्परागत संस्कार अनुरुप औपचारिक रुपमा जग्गादानको बिन्ति गरिएको छ । लफ्याङमा खेल मैदान निर्माणका लागि जग्गादान गर्ने बचन दिएका १० जना जग्गादाता समाजसेवीलाई शनिबार किरात राईको परम्परागत रीति संस्कृति अनुरुप शीर उभ्याउनी(सम्मान) गर्दै औपचारिक रुपमा जग्गाका लागि बिन्ति गरिएको हो । 
साबिकको लफ्याङ गाबिसभरीका भद्रभलाद्मी, गन्यमान्य सबै भेला भएर परम्परागत संस्कार अनुरुप सुँगुरको ढाड (सम्मान तथा शीर उभ्याउनीका लागि मारेर तयार पारिएको डल्लै संँुगुर), सगुन (एक जोर कठुवामा राखिएको रक्सी), खसी (काटेर मर्मत गरिएको), रोटी, एक घरी केरा लगायतका सामाग्रीका साथमा फेटा(पगरी) गुथेर शीर उभ्याउनी (सम्मान) गर्दै जग्गाको बिन्ति गरिएको स्थानीय बासबोटे माबिको प्रधानाध्यापक तथा खेल मैदान अभियन्ता जसराज किरातीले जनाए । खेल मैदानका लागि साँध सिमानामा निःशुल्क तथा चलेको दरभाउमा जग्गा दिने बोलकबुल गर्ने स्थानीय रामप्रसाद राई,राजनश्वर राई, खड्गराज राई, शिबप्रसाद राई, डिल्लीराम आचार्य, त्रिलोक राई, कल्पना राई, धन्जु राई, रामजय राई र पुर्णजय राईलाई सम्मान गर्दै जग्गा माग गरिएको हो ।
 खेल मैदानका लागि सक्दो–मिल्दो जग्गा प्रदान गर्ने दाताहरुले प्रतिबद्घता जनाएका छन् । 
खेल मैदान जस्तो पबित्र तथा साझा स्थलको लागि जग्गा प्रदान गर्न आफुलाई कुनै कञ्जुस्याँईं नभएकोले सक्दो–मिल्दो जग्गा दिन तयार भएको दाताहरुको भनाई छ । जग्गा मगनीको लागि स्थानीय जग्गादाता रामप्रसाद राईको घरआँगनमा आयोजना गरिएको बिशेष कार्यक्रम(कार्जे)मा बोल्दै जग्गादाताले पुस्तौं–पुस्ताका भाबी सन्ततिलाई उपयोगी बन्ने खेल मैदान निर्माण कार्य सफलतापुर्बक सम्पन्न गर्न आर्शिबाद समेत दिए । भावी सन्ततीका लागि यस्तो खालको सत्कार्यमा सबै जुट्नुपर्ने जग्गादाता समाजसेवी बृद्घ रामप्रसाद राईले बताए । भुपु ब्रिटिस आर्मी राईले आफुले २५ बर्ष अगाडी सोंचेको खेल मैदान निर्माणको कुरा बल्ल अहिले आएर उठाईएकोमा खुशी ब्यक्त गरे । राईले खेल मैदानका लागि चयन गरिएको उक्त स्थानमा भएको जग्गा मध्ये नापजाँच गरेर आधा जग्गा (करिब १५ रोपनी) निःशुल्क उपलब्ध गराउने प्रतिबद्घता जनाए । 
यसअघि नै खेलमैदानका लागि जग्गा प्रदान गरिए पनि निर्माण नभएको प्रशंग निकाल्दै राईले अन्र्तराष्ट्रिय

स्तरकै खेल मैदान बन्नुपर्नेमा जोड दिए । अन्य बिबिध बिधाका खेलका लागि समेत मैदान वा स्थानको ब्यवस्था गर्न आवश्यक भएको दाताहरुको धारणा छ ।

बिशेष कार्यक्रममा आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष हात्तिराम राई, शिक्षक, समाजसेवी, पत्रकार महासंघ जिल्ला शाखाका पदाधिकारी, खेलाडी, पुर्ब जनप्रतिनिधी लगायत गाउँबासीको उपस्थिती थियो । परम्परागत मुल्य मान्यतालाई ख्याल गर्दै कार्यक्रमको आयोजना गरिएकोमा खुशी लागेको आदिबासी जनजाति महासंघका अध्यक्ष राईले बताए । 
नबनिर्बाचित जनप्रतिनिधीको अनुपस्थिती
महान अभियानको रुपमा अन्र्तराष्ट्रिय स्तरको खेल मैदान निर्माणमा सबै वडाबासी जुटिरहे पनि नबनिर्बाचित जनप्रतिनिधिको अनुपस्थिती रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । आफुहरु निरन्तर खेल मैदान निर्माण अभियानमा लागिरहे पनि सोही सन्दर्भको बिशेष कार्यक्रममा निर्बाचित जनप्रतिनिधीहरुको अनुपस्थितीले बेवास्ता दर्शाएको स्थानीय बक्ताहरुले टिप्पणी गरे । पुर्ब सल्लाह तथा योजना अनुरुप नै कार्यक्रम तय गरिए पनि जनप्रतिनिधी अनुपस्थित हुँदा कार्यक्रम असोभनिय हुनका साथै स्थानीय जनताको भावनालाई बेवास्ता गरेको भान भएको बक्ताहरुको भनाई थियो । 
मैदान ब्यवस्थापन समितिले हातैमा पत्र थमाईदिँदा पनि वडाका कोही पनि जनप्रतिनिधी कार्यक्रममा उपस्थित नभएको स्थानीयको गुनासो छ ।