खोटाङ बैशाख–७, खोटाङमा शैक्षिक गुणस्तर अभिबृद्दिका लागि दुई दिने कार्यशाला गोष्ठी सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ वडा शिक्षा समितिले वडाका शिक्षकहरु लक्षित कार्यशाला बिहिबार  सुरु गरेको हो ।

नगरपालिकाको दुई नम्बर वडामा पर्ने सोल्मास्थित सुभम फाउण्डेशनको सभाहलमा सुरु गोष्ठीमा वडास्थित पाँच आधारभुत र एक माबिका शिक्षकहरुको सहभागिता रहेको छ । ४० जना शिक्षकहरुको सहभागिता रहेको गोष्ठीमा दिक्तेलबजारस्थित पञ्च माबिका शिक्षक लक्ष्मीप्रसाद खनाल लगायत दिग्गज ब्यक्तिहरुले सहजिकरण गरिरहनुभएको छ ।

सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर खस्किँदै गईरहेकाले कार्यशाला गोष्ठीको आयोजना गरिएको वडा शिक्षा समितिका संयोजक तथा वडाध्यक्ष खगेन्द्र राईले बताउनुभयो । सामुदायिक बिद्यालयहरु कहाँनेर चुक्न पुगेको हो भन्ने बारे समेत कार्यशालामा छलफल हुने र समाधानको बाटो खोजिने उल्लेख गरिएको छ । यदि व्यवस्थापन पक्ष लगायत शिक्षक तथा जनशक्तिको कमी कमजोरी हो भने त्यसको जड पत्ता लगाएर अघि बढ्नुपर्ने अध्यक्ष राईले जनाउनुभयो । सामुदायिक बिद्यालयहरुप्रति अभिभावकहरुको बिश्वास घट्दै जानु चुनौतिको बिषय भएको राईको टिप्पणी छ ।

स्थानीय स्रोत–साधन तथा जनशक्तिको सदुपयोग तथा परिचालन सहित बिद्यालयहरुमा प्रबिधिको उच्च प्रयोग आजको आवश्यक्ता रहेको सामुदायिक उद्घाटन कार्यक्रमका बक्ताहरको धारणा थियो ।

उद््घाटन कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा वडा नम्बर–१२ जालपाका वडाध्यक्ष दानबहादुर राई, शुभम फाउण्डेशनका प्रबन्ध निर्देशक सुर्य राई लगायतका उपस्थिति रहेको जनाईएको छ । ।