खोटाङ, कार्तिक–९, बिदामा बसेका कर्मचारी काममा नफर्कँदा जिल्ला स्वास्थ्य कार्यालय खोटाङको कामकाज प्रभावित भएको छ । बिदामा बसेका कर्मचारीहरु काममा नआउँदा जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंग सेवा लगायतका सेवा प्रभावित भएको हो । मंगलबार रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल नेतृत्वको टोलीले गरेको अनुगमनकाक्रममा कतिपय कर्मचारी कार्यालयलाई जानकारी नै नगराई बसिरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनशुार बिदामा बसेका ल्याब इन्चार्ज उज्वल तिवारी असोज ७ गते देखि कार्यालयमा हाजिर भएका छैनन् । यस्तै, बहिरंग विभागका हेल्थ असिस्टेण्ट सनम सिवाकोटी बिदा लिएको महिना दिन वित्दा समेत कार्यालयमा हाजिर नभएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नबिन देबकोटाले बताए ।
सिवाकोटीले असोज १ गतेदेखि २४ गतेसम्मको विदा माग गरेको निबेदनमा उल्लेख छ तर, उनको निबेदनलाई कार्यालय प्रमुखले स्वीकृत गरेको देखिन्न । अन्तरंग सेवामा कार्यरत स्टाफनर्स सिता शाह बिदा सकिएको तिन दिन बित्दा सम्म कार्यालयमा नआएको पाइएको छ । स्वीपर समेत कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । कतिपय कर्मचारी बिदा स्वीकृत नभए पनि कार्यालयमा हाजिर नहुने गरेको पाइएको मेयर रिजालले बताए । ‘भएका कर्मचारी बिदा सकिएको लामो समयसम्म उपस्थित नहुँदा अस्पतालको काम प्रभावित भएको पाइएको छ,’ रिजालले भने, ‘मैले हाजिर नभएको दिनको तलव कट्टा गर्नका लागि कार्यालय प्रमुखलाई निर्देशन दिएको छु ।’
मेयर रिजाल नेतृत्वको टोलीले स्थायी तथा करार कर्मचारीको हाजिर पुस्तिका समेत निरिक्षण गरेको छ ।