खोटाङ बैसाख–५, खोटाङमा पहिचान पक्षधर समुहले कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दवावमुलक आन्दोलन थालेको समुहले क्यालेण्डर जलाएको हो ।

पुन ः नामांकन संयुक्त संघर्ष समिति अन्तरगतको युवा परिचालन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएका छन् । निर्मल राई नेतृत्वको युवा परिचालन समितिले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अगाडि करिब दुई सयप्रति क्यालेण्डर जलाएको हो । नगरपालिकाको सचिवालयमा ढोक्रोमा राखिएको क्यालेण्डर झिकेर जलाइएको युवा परिचालन समितिका संयोजक राईले बताउनुभयो ।

क्यालेण्डर जलाउने क्रममा कोशी प्रदेश विरुद्ध नाराबाजी गरेका थिए । पुनः नामांकन संयुक्त संघर्ष समिति अन्तरगत जिल्लामा राईको संयोजकत्वमा एक सय एक सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ । संयुक्त संघर्ष समितिले चैत २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै बोर्ड, लेटर प्याड र छापमा कोशी नलेख्न ध्यानाकर्षण गराएको थियो । ।