केदार मगर/खोटाङ,
१३ कात्तिक, विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने खोटाङमा क्रियाशील राजनीतिक दलले निर्वाचनमा उम्मेदवार बनाउने क्रममा भने महिलालाई उपेक्षा गरेको छ । आगामी मंसिर १० गते हुने प्रदेश र २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि ९ जनाको उम्मेदवारी परेकोमा एक सरस्वती बजिमयको मात्र महिला उम्मेदवारी परेको हो ।
२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक तर्फको सभाषद् बन्नुभएकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएको हो । बजिमयसँगै काँग्रेस, एमाले–माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति, नेकपा माले, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ती र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार रहेका छन् ।
विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने दलले निर्वाचनमा उठाउने क्रममा भने महिलालाई उपेक्षा गरेको छ । निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति सुरु गर्नुभएकी बजिमय महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्य लगायतको भूमिका निर्वाह गरिसक्नुभएको छ । उम्मेदवारी हालेसँगै चुनावी अभियानमा होमिनुभएकी बजिमयको आगामी निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदार विशाल भट्टराईसँग कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभा सदस्यमा बजिमयले टिकट पाए पनि प्रदेशसभामा कुनै पनि दलले महिला नेतृलाई दिएका छैनन् । दलको भरपर्दो खम्बाका रुपमा काम गरिरहेका बेलामा अवसर आउँदा भने पाखा लगाइएपछि महिला नेतृहरु असन्तुष्ट बनेका छन् ।
प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक क्षेत्र रहेको जिल्लामा सबै राजनीतिक दलले आ–आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् । चुनावी अभियानमा होमिएका दलहरु अहिले गाउँगाउँमा पुगेर आफ्नो पक्षमा मतदाता तान्ने कसरतमा रहेका छन् ।