खोटाङ चैत्र–२४, खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप लगाएको र जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चत पालिका घोषणा गरिएको हो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल लगायतले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेपछि पालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो ।

पालिकालाई समृद्धिको गन्तव्यतर्फ लैजान पूर्ण खोप अभियान महत्वपूर्ण सूचक भएको गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा पहिला साकेलालाई पूर्णखोप सुनिश्चिता र दिगोपना घोषणा गर्न सफल भएको अध्यक्ष राईले उल्लेख गर्नुभयो । स्वास्थ्यकर्मीहरुलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशिल भएर निरन्तर सेवामा लाग्न अध्यक्ष राईको आग्रह छ ।

यससँगै, साकेला गाउँपालिकामा अवस्थित ५ शैयाको ’साकेला आधारभूत अस्पताल’लाई औपचारिक रुपमा उद्घाटन गरिएको छ । विगत २ वर्षदेखि कोभिड अस्पतालको रुपमा सञ्चालन हुँदै आएको उक्त अस्थायी अस्पताललाई नेपाल सरकारको नीति अनुरुप साकेला आधारभूत अस्पतालमा स्तरवृद्धि गरि उद्घाटन गरिएको हो ।

राईले ५ शैयाको अस्पताललाई थप स्तरवृद्धि गरि १५ शैयाको बनाउन पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिकहरुलाई घरघरमा स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका प्रतिवद्ध भएको बताइएको छ ।।