खोटाङ चैत्र–२०, खोटाङको दिक्तेलबजारको सडकमा जेब्राक्रसिङ र होम्स अर्थात ब्रेकर निर्माण गर्न शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा पर्ने जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजारका बिभिन्न स्थानमा जेब्रा क्रसिङ र ब्रेकर राख्नाका साथै केही स्थानमा मर्मतको काम सोमबार शुरु गरिएको हो ।

शहरीकरणसँगै यातायातका चाप समेत बढ्न थालेकाले दुर्घटनाको जोखिमलाई मध्येनजर गर्दे नगरपालिकाको करिब १० लाख रुपैंयाँ बजेटमा सो कार्य थालेको नगरपालिकाले जनाएको छ । बजारमा पैदल यात्रु र सवारी साधनको चाप हुने १० स्थानमा जेब्रा क्रसिङ र १६ स्थानमा ब्रेकर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । बिशेषगरी बालबालिका, बृद्दबृद्दा र अपाङग नागरिक सडक दुर्घटनाको जोखिममा पर्दै आएका छन ।

९ लाख ९४ हजारमा उक्त कामको जिम्मा लिएको सजिब निर्माण सेवाका प्रतनिधि श्याम पौडेलले जनाउनुभयो । ढलान गरिएको सडकमा सवारी साधनको गति तीब्र हुनाले जेब्रा क्रसिङ र ब्रेकर अनिबार्य भएको जनाईएको छ । बजारको केही दुरी बाहेक ढलान कार्य सम्पन्न भईसकेको छ । बाँकी रहेको सडकमा पनि ढलान कार्य जारी छ ।।