खोटाङ कात्तिक–१८, गत कात्तिक ७ गते एक हजार ७ सय ७७ सदस्यीय संयुक्त चुनाव परिचालन समिति गठन गरेको वाम गठबन्धनका नेता कार्यकर्ताले खोटाङको दिक्तेलमा संयुक्त चुनावी प्रचार–प्रसार शुरु गरेको छ । आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले जिल्लामा शनिबारबाट संयुक्त चुनाव प्रचार–प्रसार शुरु गरेको हो ।
संयुक्त चुनावी एजेण्डा लिएर उम्मेदवारहरु गाउँ केन्द्रित भएसँगै सदरमुकाम दिक्तेल लगायत व्यापारिक केन्द्रहरुमा प्रचार–प्रसार थालिएको गठबन्धनका नेता एवम् एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए । आचार्यका अनुसार सबै व्यवापारिक केन्द्रमा मतदाता शिक्षासँगै प्रचार–प्रसार शुरु गरिएको हो ।
संयुक्त चुनाव परिचालन समितिले चुनाव चिन्ह र पोष्कर टाँस्नुका साथै मतदातालाई मत हाल्ने तरिका सिकाउँदै हिँडेका छन् । दिक्तेलस्थित भवन गैराबाट शुरु गरिएको प्रचारप्रसार अभियान जिल्लाभर एकैसाथ सञ्चालन गरिएको गठबन्धनले जनाएको छ ।
जिल्लामा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका विशाल भट्टराई तथा प्रदेशससभा क्षेत्र नम्बर १ मा एमालेकै राजन राई र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । कुल एक लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका लागि दश राजनीतिक दलका नेताले भाग लिएका छन् ।
प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक क्षेत्र निर्धारण गरिएको जिल्लामा वाम गठबन्धनका साझा उम्मेदवार भट्टराई र नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने देखिएको छ ।