खोटाङ, २३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत खोटाङ ल्याइएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकाबारा लगायत निर्वाचन सम्बन्धी आवश्यक सबै सामग्री ल्याइएको हो । 
एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । “कार्यालयबाट गर्ने काम लगभग सकिएको छ ।” उहाँले भन्नुभयो, “केन्द्रबाट ल्याउनुपर्ने निर्वाचन सम्बन्धी आवश्यक सबै सामग्रीसमेत आएपछि तयारी अन्तिम चरणमा पुगेको हो ।” 
आगामी निर्वाचनमा जिल्लामा १७९ मतदान केन्द्रमार्फत मतदान हुने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । जिल्ला कायम रहेको १३६ मतदानस्थलमध्ये २८ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । 
जिल्ला सुरक्षा समितिको बैठकमार्फत भौगोलिक अवस्था, सुरक्षा चुनौति, निर्वाचन केन्द्रमा हुनसक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, विगतका चुनावमा भएका घटना लगायतका आधारमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । निर्वाचन अवधिभर खोटाङमा एक हजार ८०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको जनाइएको छ ।
दश राजनीतिक दलका नेताले उम्मेदवारी दिएको जिल्लामा मतदातालाई रिझाउन सबै दलका उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगेका छन् । प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा वाम गठबन्धनका साझा उम्मेदवार भट्टराई र नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।