बिनिता राई/खोटाङ 
कात्तिक–२५, खोटाङ लफ्याङका बसन्त राई ६ जनाको परिवारमध्ये जेठो छोरो हुन् । रुपाकोट मझुवागढी नगरपालिका–५ मा पर्ने लफ्याङ नर्कटेका युवा बसन्त जेठो छोरो भएकै नाताले पनि परिवार चलाउनु पर्ने जिम्मेवारी उनको काँधमा हुने नै भयो । 
आफ्नो खेतबारी प्रशस्त नभएको र कुनै आम्दानीको बाटो नभएको कारण परिवारको अवस्थामा सुधार ल्याउन बसन्तले बैदेशिक रोजगार नै अन्तिम बिकल्प हुने निधो गरे । भन्छन्–‘बिदेश जाने पक्का गरेर पनि कुन् देश जाने अनि को मार्फत जाने भनेर चाहीँ बुझ्दै थिएँ ।’ बसन्तले निक्कै सोंच–बिचार गरी  विदेश जाने टुंगो गर्दै गर्दा त्यति नै बेला नर्कटेमा वित्तीय साक्षरता कक्षा हुने खबर पाए । त्यो कक्षामा विदेश जानेहरु, फर्किएर आएका र उनीहरुको परिवारलाई फाइदा हुने कुरा सिकाइने भन्ने कुरा बुझेपछि बसन्त त्यतै लागे । भन्छन्–‘ साँच्चै त्यहाँ त विदेश गएर फर्किएका र उनीहरुका परिवारलाई मात्रै होइन् विदेश जानेहरुका लागि चाहिने कुरा सिकाइँदो रहेछ ।’ 
त्यो कक्षामा धेरै कुराहरुमा छलफल भए होलान्, तर बसन्तलाई भने एउटै कुराले यस्तरी  समात्यो की जसले बिदेश जाने मन सर्लक्कै फेरिदियो अनि रोक्यो स्वदेशमै । भन्दा र सुन्दा त्यति ठुलो कुरा त लाग्दैन तर पराई भूमिमा बसन्तको पसिना बग्न नदिने फैसला त्यही कुराले ग¥यो । उनले बित्तिय साक्षरता कक्षामा बुझेको धेरै कुरा मध्ये मुख्य भनेको ‘बिदेश जाने पैसा लगानी गरेर गाउँमै गर्न सकिने कामका बारेमा’ हो ।  
वालसेवा समाज नेपाल, नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगतको बित्तिय साक्षरता कक्षामा सहभागी भएपछि बिदेशिने मन बद्लिएको उनि सुनाउँछन् । एसएलसी उतीर्ण राई भन्छन्–‘त्यो कक्षामा उहाँहरुले थोरै पैसा हुनेहरुले बाख्रा, कुखुरा पालेर अनि व्यावसायिक रुपमा खेती गर्ने हो भने विदेशमा दुःख गर्न जान पर्दैन भनेपछि मेरो मन फेरियो ।’ बसन्तको संघर्ष, मेहनत, लगानी र आम्दानीको कुरा अलि लामै पनि छ । बसन्त भन्छन्–‘मैले २०७२ सालमा ७० हजार रुपैयाँ लगानी गरेर बाख्रा पाल्न थालें । के तरिका मिलेन कुन्नि त्यसबाट राम्रो आम्दानी गर्न सकिन ।’ तर पनि उनले हिम्मत नहारी मेहनत र श्रममा बिश्वास गरि नै रह््यो । ‘त्यसको १ वर्षपछि ६० हजार रुपैयाँ लगानी गरेर कुखुरा पालेँ ।’ थप्छन–‘ऋण लिएर बाख्रा र कुखुरा पाल्न थालेको थिएँ । कुखुराबाट त्यो ऋण तिरेर पनि ५० हजार रुपैयाँ नाफा भयो ।’ त्यसले बसन्तलाई हौस्यायो । 
२०७४ साल लागि सकेपछि अर्थात बित्तिय कक्षामा सहभागी भईसकेपछि उनले एउटा पोखरीमा माछा पनि पाल्न थाले । अहिले बाख्रा, कुखुरा अनि माछाबाट महिनाको एक लाख रुपैयाँ कमाइ भईरहेको बसन्त बताउँछन् । अब त्यही व्यावसायलाई बढाउने उनको सोंच छ । त्यति मात्र होईन परम्परागत रुपमा भइरहेको खेतीलाई पनि व्यावसायिक बनाउने उनको योजना छ । हाल बसन्तले अन्य बाली मासेर ब्यवसायिक खेती गर्न अलैंची पनि लगाएका छन् । उनी खुशी मुद्रामा सुनाउँछन्–‘२ वर्षमा मैले गरेको प्रयोग सफल हुँदै गएको छ । परिवारसँगै बसेर पनि विदेशमा सामान्य कामदारले कमाउने २०–३० हजार रुपैयाँ भन्दा यही तीन चार गुणा बढी कमाइ हुने रहेछ ।’ कुराकानीको अन्त्यमा बिदेशिन आतुर युवाहरुलाई र्इंगित गर्दै भने–‘स्वदेशमै आम्दानीको बाटो समात्न सके किन विदेश जाने भन्ने भएपछि मैले विदेश जाने सोच त्यागें ।’
प्रत्येक समुहलाई हप्ताको १ दिन  गरी २८ हप्ता सम्म कक्षा सञ्चालन गरिने बित्तिय साक्षरता कक्षामा वित्तिय साक्षारताको अवधारणा बचत, बचत योजना, लगानीका बारेमा सिकाईन्छ । यस्तै, उक्त कक्षामा परिवार व्याबस्थापन, वित्तिय लक्ष्य निर्धारण, व्याबसायिक योजना, वैदेशिक रोजगार, वीमा, लघु व्यबसाय आदिको विषयमा समेत जानकारी गराईने बित्तिय साक्षरता सहजकर्ता बताउँछन् ।  
पछिल्लो समय जिल्लाका कतिपय युवाहरु आफ्नै घरघु¥यानमा रोजगारीका सिर्जना गरी मनग्गे आम्दानी गरिरहेका छन् ।