खोटाङ कार्तिक–२८, निर्वाचन प्रचार–प्रसार एबं चुनावी सभामा सहभागी बनेर घर फर्कने क्रममा ज्यान गुमाएको कार्यकर्ताको परिवारलाई राप्रपा खोटाङले आर्थिक सहयोग प्रदान गरेको छ । राप्रपाले चुनाबी अभियानबाट फर्कने क्रममा भीरबाट लडेर ज्यान गुमाएका राप्रपाका महाधिबेसन प्रतिनिधि केशरमान बिश्वकर्माको परिवारलाई १० हजार ५ रुपैयाँ सहयोग प्रदान गरेको हो ।
लामो समयदेखि राप्रपामा योगदान पु¥याएका बिक परिवारलाई सहानुभुति एबं काजक्रियाका लागि राप्रपाका अध्यक्ष कमल थापाको निर्देशनमा आर्थिक सहयोग गरिएको राप्रपाका युवा नेता पेशल बस्नेतले बताए । पोष्टमार्टमका लागि शव लिएर जिल्ला अस्पतालमा आएका मृतकका छोरा किसन बिश्वकर्मालाई राप्रपाका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले रकम हस्तान्तरण गरेका हुन् । 
लोकतान्त्रिक गठबन्धन अनुसार कांग्रेस र राप्रपाको संयुक्त कार्यक्रममा सहभागी बनेर घर फर्कने क्रममा बिश्वकर्माको आईतबार राती राजापानीको सान्नेस्थित भीरबाट लडेर मृत्यु भएको आफन्तले बताएका छन् । मृतकको शवलाई राप्रपाका जिल्ला अध्यक्ष श्रेष्ठ लगायतले पार्टीको झण्डा ओढाएका छन् ।