कात्तिक–२९ खोटाङ, नयाँ शक्ति पार्टी नेपाल खोटाङका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार कृषिविज्ञ मदन राईले अब जनताले हल्लामा विश्वास गर्न छाडेको बताएका छन् । चुनाब प्रचारप्रसारको दौडधुपमा रहेका पार्टी सचिवालय सदस्य समेत रहेका राईले जनताले अब काम गरेर देखाउने पार्टी तथा उम्मेदवारलाई मतदान गरी बिजयी गराउने बताएका हुन् । 
आफुले नचाहिँदो गफ र हल्लाखल्ला नगरीकनै जनताको सेवा तथा भलाईमा निरन्तर काम गरिरहेको र गरिरहने हुनाले आफु र आफ्नो पार्टीलाई एक भोट दिन मतदाताहरु आतुर भएको राईले दाबी गरे । उनले भने–‘मदन राईको पक्षमा उर्लंदो जनसागर छ, यसले आसन्न चुनाव जित्ने छाँटकाट देखिएको छ ।’  जनताले आफुलाई भेट्न र भोट दिन दृढ चाहाना गरे पनि सबैको गाउँगाउँ, घरघरमा पुग्न नसकिरहेको राईको भनाई छ । आफु र आफ्नो टोली जिल्लाका सबै जनताको घरदैलोमा पुग्ने कसरत गरिरहेको उनले बताए ।
चुनावी अभियानको क्रममा धेरै जनताले पार्टी प्रवेश गर्छौं भने पनि चुनाव अगाडी कसैलाई पार्टी प्रवेश नगराएको नयाँ शक्ति खोटाङले जनाएको छ । चुनावपछि पार्टी प्रवेश गराउने प्रतिवद्धता दिलाएको बताउने पार्टीले अहिले पार्टी प्रवेश गराउनु भन्दा जनताको मन जीत्ने चेष्टामा रहेको उल्लेख गरेको छ ।  
मदन राईले त्रीधार्मिक स्थल हलेसीलाई विश्व समुदायमा फैलाउने, प्रत्येक किसानलाई व्यवसायिक बनाउने, अर्गानिक खेतीमा सम्पन्न गराउने, युवा शक्तिलाई स्वरोजगारी र व्यवसायी बनाउने, शिक्षालाई उत्पादनमुखी बनाउने र स्थानिय जननिर्वाचित पदाधिकारीलाई पुर्वाधार विकास क्षेत्रमा सहयोग गर्ने लगायतका चुनावी एजेण्डा बनाएका छन्  ।