रामधन वेदना/खोटाङ

भदौ–१४,  पुरानो त्रिपाल टाँगिएको आँगन । आँगनमा केही बेन्च र प्लाष्टिकको कुर्सी । आँगनतर्फ वसेका गाउँका केही युवा र बृद्दाहरुको लाईनमा जिल्लाका सञ्चारकर्मीहरु । घरको दलनतर्फ(सिकुवामा) भने गाउँकै महिला, वालवालिका तथा केही बृद्दाहरु मिलेर अँटेका छन् । महिलाहरु वसेको अगाडी अर्थात सिकुवाको भित्तामा वैदेशिक रोजगारीका हिसावले पहिलेको गाउँको अवस्था र अहिलेको अवस्था संकेत गरिएको तुलनात्मक नक्सा झुण्ड्याईएको छ ।
खोटाङस्थित साविकको खाल्ले गाविस तथा हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ को आयोजनामा सम्पन्न एक औपचारिक घोषणा–सभामा देखिएको दृश्य हो यो । वडाको वस्नेत गाउँमा विहिवार विहान सम्पन्न कार्यक्रमको सभापति सोही वडाको वडाध्यक्ष डिल्लीकुमार राई बेन्चमै बस्नुभएको थियो । 
उही खाल्लेमा यसअघि आयोजना भएका खुला दिसामुक्त वडा घोषणा हुँदा या कुनै पनि अभियानको दौडानमा खुबै तामझामका साथ कार्यक्रम हुन्थ्यो । खसी काटिन्थ्यो होला । स्वागतद्वार निर्माणदेखि अतिथि स्वागत तथा सत्कारका लागि कुनै कसर बाँकी राखिएन होला । कामभन्दा बढी तामझाम गर्ने हाम्रो चलनै हो ।

तर त्यत्तिकै या त्यो भन्दा बढी महत्वपूर्ण अभियान ‘वैदेशिक रोजगार सुरक्षित टोल’ घोषणा कार्यक्रम भद्दा र असहज लाग्ने देखिएन । कसैको निधारमा अविर लगाईएन, कसैलाई फूलमाला तथा खदा केही भिराईएन , न त भोज भत्तेर नै भयो ।

तर उक्त अभियान सफल भएकोमा खुशी ब्यक्त गर्दै अन्य स्थानमा पनि सफल बनाउन सवै आफ्नो ठाउँवाट लागी पर्ने स्वस्फुर्त प्रतिबद्दता स्थानीयले जनाए । देशकै पहिलो ‘वैदेशिक रोजगार सुरक्षित टोल’ निर्माण गर्न सकेकोमा मनमनै खुशियाली मनाए । 
वैदेशिक रोजगारीमा जाने सवै परिवार मानसिक, सामाजिक, आर्थिक, वैधानिक अर्थात कानुनी लगायत विविध पक्षले सुरक्षित भएपछि वस्नेत टोललाई ‘वैदेशिक रोजगार सुरक्षित टोल’ घोषण गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो तथा मर्यादित वनाउन आवश्यक सवै प्रकारका मापदण्डहरु पूरा गरेपछि वडाध्यक्ष डिल्लीकुमार राईले औपचारिक रुपवाट ‘वैदेशिक रोजगार सुरक्षित टोल’ घोषणा गर्नुभएको हो । 
  वैदेशिक रोजगारीमा जाने सवै परिवारका सदस्यहरुले आफन्तको कागजातको प्रतिलिपी घरमा मगाउने, २८ हप्ते वित्तिय साक्षरता कक्षामा सहभागी वन्ने र सो कक्षामा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने लगायतका कार्यहरु पूरा गरेपछि उक्त घोषणा गरिएको हो ।
३१ घरधुरी रहेको वस्नेत टोलवाट वैदेशिक रोजगारीमा जाने तथा नजाने सवै जसो परिवारका सदस्यहरु सामुहिक छलफलमा जुट्ने, आम्दानी बढाउने तथा वचत गर्ने, अरुको कुरा नकाट्ने, मानसिक तनाव घटाउन र अरुलाई तनाव हुने कुरा नगर्न विभिन्न उपायहरु अपनाउने आदि कार्य नियमित गर्न थालेपछि उक्त घोषणा गरिएको वडाध्यक्ष डिल्लीकुमार राईले वताउनुभयो ।  

नवकिरण सेवा समाज दुर्छिम तथा वालसेवा समाज नेपाल नेर्पाले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगतका विभिन्न कार्यक्रमहरुको प्रभावले सुरक्षित टोल घोषणा गर्न सफल बनेको वडाध्यक्ष राईको भनाई छ ।
सुरक्षित टोल निर्माण तथा घोषणाका लागि पुरा गर्नुपर्ने मापदण्ड अर्थात प्राविधिक पक्ष लगायतमा सम्पूर्ण जस सामी परियोजना र सो अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने दुवै संस्थालाई जाने वडाध्यक्षले स्पष्ट पार्नुभयो । उहाँले यो अभियानलाई निरन्तरता दिँदै पुरै वडालाई वैदेशिक रोजगारका हिसावले सुरक्षित वनाउने जनाउनुभएको छ ।

गत वर्षदेखि सुरु गरिएको सुरक्षित टोल निर्माण अभियान सफल पार्न सामाजिक नक्सालाई विशेष प्रयोगमा ल्याईएको नवकिरण सेवा समाजका सामाजिक परिचालक सन्तोषकुमार राईले जनाउनुभयो । वैदेशिक रोजगारीमा जाने सदस्यको सुरक्षा र खतरालाई संकेत गरी गाउँको नक्सा तयार पारिएपछि स्थानीयले स्वस्फुर्त रुपमा सुरक्षित हुने विधि तथा प्रक्रिया अपनाउने गरेको राईको भनाई छ ।

 आफ्नो घरमा लागेको खतराको संकेत हटाई सुरक्षितको संकेत राख्ने हत्तारोका कारण सुरक्षित हुने विधि तथा प्रक्रियाहरु स्थानीयले पूरा गरेका छन् । स्थानीयले वैदेशिक रोजगारीको क्रममा हुने ठगीवाट बच्ने उपायवारे समेत बुझेका छन् ।

 सामी अन्र्तगत सञ्चालन गरिएको वित्तिय साक्षरता कक्षा, मनोसामाजिक परामर्श कक्षा, सामुदायिक अभिमुखिकरणका साथै सचेतनामूलक भिडियो प्रर्दशनीका कारण वस्नेत टोल वैदेशिक रोजगारमा सुरक्षित वनेको स्थानीय सुनाउँछन् ।
हाल वैदेशिक रोजगारीमा गएकाको परिवारमा आम्दानी बढाउन विभिन्न आयमूलक व्यवसाय अपनाएको पाईन्छ । सामी अन्तर्गतको कार्यक्रमहरुका कारण व्यवहारिक जीवनमा परिवर्तन आएको स्थानीय महिला दुर्गा वस्नेतले वताउनुभयो ।

 वित्तिय साक्षरता कक्षामा सहभागी सवैले आम्दानी बढाउने, खर्च घटाउने तथा  नियमित वचत गर्ने गरेको वस्नेतले सुनाउनुभयो । यस्तै, अरुको कुरा काट्ने, मनमा तनाव लिने, वालवच्चालाई कुटपिट गर्ने, बजारिया खाने कुरा प्रयोग गर्ने जस्ता ब्यवहारमा सुधार आएको महिलाहरु सुनाउँछन् । 

वस्नेत टोलका स्थानीयले वैदेशिक रोजगारीमा जान तयार भएकाहरुलाई जानेको वुझेको सचेतनामुलक जानकारी गराउनेदेखि लिएर दिक्तेलवजारमा सञ्चालित सूचना तथा परामर्श केन्द्र पठाउने कार्य समेत गर्न थालेका छन् । 
वस्नेत टोललाई २० वटा टनेल 

वस्नेत गाउँका स्थानीय आयआर्जन मुलक कार्यमा लागेको भन्दै वडा कार्यालयले २० वटा टनेल प्रदान गर्ने भएको छ । आम्दानीमूलक कृषि ब्यवसाय गर्न इच्छुक परिवारलाई आवश्यक्ताका आधारमा टनेल प्रदान गर्ने वडाध्यक्ष डिल्लीकुमार राईले वताउनुभएको छ ।

वस्नेत गाउँले वैदेशिक रोजगार सुरक्षित टोल निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका साथै सवैलाई सुरक्षित वनाउन प्रतिबद्द वनेकोमा प्रशंसा गर्दै धन्यवाद ब्यक्त गर्नुभयो ।
 वैदेशिक रोजगारीवाटै मुलुक चलेको अवस्थामा यसलाई सुरक्षित र मर्यादित वनाउनतर्फ सवैले ध्यान दिनुपर्ने उहाँले जनाउनुभयो । 
‘जग्गाको कागजात हिफाजत गर्छौं,  मान्छेको कागजात वेवास्ता’

 सुरक्षित आप्रवासन परियोजना (सामी)को जिल्ला संयोजक भक्तकुमार राईले कागजातको महत्वबारे स्पष्ट पार्नुभएको छ । ‘वैदेशिक रोजगार सुरक्षित टोल’ निर्माणका अभियन्ताहरुले कागजातको महत्व बुझेको र बुझाउन सकेकोमा धन्यवाद दिँदै अधिकांशले कागजातको महत्व नै नवुझेको बताउनुभयो । 
‘आँखै अगाडीको जग्गाको धनिपूर्जा हामी खुव जतनले तीन–चार खाप बेरेर राख्छौं ।’ उहाँले भन्नुभयो–‘सात समुन्द्र पारी पुगेको मान्छेको कागजपत्रको हामीलाई मत्लव नै छैन ।’
उहाँले आफन्त वेपत्ता भएको वा अप्ठ्यारोमा परेको खण्डमा खोजी गर्ने पहिलो आधार नै कागजपत्र भएकोले त्यसको प्रतिलिपी अमूल्य हुने संकेत गर्नुभयो । नेपाली श्रम वजारमा वार्षिक साँढे चार लाख युवाहरु निस्कने प्रशंग निकाल्दै जिल्ला संयोजक राईले ती मध्ये अधिकांश युवा व्यवस्थापन वैदेशिक रोजगारीमा हुने गरेको जनाउनुभयो ।

 यसर्थ, वैदेशिक रोजगारीको समस्या घर–घर, जन–जनको समस्या भएकोले यसलाई सुरक्षित र उपलब्धीमूलक बनाउन सवैले चासो दिनुपर्नेमा जोड दिनुभयो ।
  कार्यक्रममा स्थानीय युवा विनोद वस्नेत लगायतले वैदेशिक रोजगारीको क्रममा भोग्नुपरेको समस्या तथा अनुवभहरु सुनाउनुभएको थियो ।