खोटाङ । खोटाङमा अबदेखि बैंक आलोपालो प्रणालीमा खोलिने भएको छ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा जिल्ला कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले बैंक बारको हिसाबमा आलोपालो खोल्न दिने निर्णय गरेको हो ।

जस अनुसार राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्याल्यको निर्देशन अनुसार खोलिनेछ । आइतबार र बुधबार कृषि विकास बैंक, सेन्चुरी बैंक, बैंक अफ काठमाडौं र एसबिआई बैंक खोल्न पाउने छन् । यस्तै, सोमबार र बिहीबार एनआइसी एसिया बैंक, सालपा विकास बैंक र सनराइज बैंक खोल्न पाउनेछन् ।

मंगलबार र शुक्रबार ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंक खोल्न पाउने भएका छन् । बैंक १० बजेदेखि १ बजेसम्म खोल्न पाइने समय तोकिएको छ भने अन्य वित्तिय संस्थाहरु हाललाई बन्द गर्ने निर्णय गरिएको छ ।

ट्याक्टर, टिफर, लोडर र एक्साभेटरलाई पुरानै पास निरन्तरता

बैठकले जिल्ला प्रशासन कार्यालय खोटाङद्धारा जिल्ला भित्र र जिल्ला बाहिर सबै प्रयोजनका लागि जारी भएका सम्पूर्ण पास रद्द गर्ने निर्णय गरेको छ । जिल्ला भित्र निर्माण कार्यका लागि सञ्चालिन ट्याक्टर, टिफर, लोडर र एक्साभेटरको हकमा भने पूर्व जारी पासलाई नै निरन्तरता दिने निर्णय भएको छ ।

प्रदेश नम्बर २ बाट खाद्यान्न, इन्धन, औषधी, कुखुराको चारो तथा निर्माण सामग्रीहरु ढुवानी गर्नुपर्ने भएमा सम्बन्धित जिल्लासँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय खोटाङले पास जारी गर्ने निर्णयमा उल्लेख छ ।