काठमाडौं । नेपालीहरुको मुख्य चाड दशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घटनास्थापनामा घरघरमा जमरा राखिदैछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमका अनुसार यस वर्ष घटनास्थापना र बिजयादशमी टीकाको साइत १०ः३५ बजे रहेको छ ।

दशैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गर्ने चलन छ । नवरात्रको यस अवधिमा आदिमाता आद्यशक्ति महामाया देवी भगवतीका विभिन्न रुपको प्रतिदिन विधिपूर्वक पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन आदिशक्ति भगवतीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिन्छ । हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई शक्ति, अन्नसमृद्धि र सुखशान्ति प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ ।