सांसद गुरुङ चढेको हेली खोटाङ–काठमाडौं आउँदा दुई पटक आकस्मिक अवतरण

0
1580

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद हिरा गुरुङ चढ्नु भएको हेली दुई पटक आकस्मिक अवतरण गर्नु परेको छ । खोटाङको साकेला गाउँपालिका निवासी सांसद गुरुङसहित कांग्रेस महामन्त्री शशांक कोइराला लगायत नेता चढेको हेली हलेसीबाट काठमाडौं आउने क्रममा आकस्मिक अवतरण भएको थियो ।

पार्टीको दिक्तेलमा आयोजना गरिएको जनजागरण कार्यक्रम समापनपछि हलेसीमा खाना खाएर काठमाडौं फर्किने क्रममा मौसम खराबीका कारण उहाँ लगायत कांग्रेस नेता सवार हेलिकप्टर दुई पटक अवतरण भएको थियो ।

हलेसीबाट २ः३० मा उडेको हेली हलेसी नगरपालिकाका तल्लो भाग हिलेपानी मुनी दुधकोसी किनारमा आकस्मिक अवतरण गर्नु परेको थियो । त्यहाँ करिब एक घण्टा बसेपछि पुनः उडेको हेलीले रामेछापको रुट पहिल्याए पनि पानी र कुइरोका कारण फेरि हेली लिकु दोभानमा अवतरण गरिएको थियो । झण्डै दुई घण्टापछि हेली कोसीको किनारै किनार भएर रामेछाप पुगेको थियो ।

‘सडक ठाउँ ठाउँमा बिग्रिएको जानकारी पछि हामी हेलीबाट काठमाडौं फर्कन खोजेका थियौं, मौसमले साथ नदिँदा आकस्मिक अवतरण गर्नुपर्यो’ सांसद गुरुङले हाम्रो खोटाङ डटकमसँग भन्नुभयो’ त्यो क्षण निक्कै डरलाग्दो भयो ।’

मुख्यतयाः गुणस्तरहिन कामका कारण अहिले देशैभरको सडक बिग्रिएको छ भने वर्षाको पानीले जताततैका सडक खाल्डाखुल्डी परेका छन् । सरकारले सडकको मर्मत सम्भारमा उचित ध्यान दिन सकेको छैन । सडक निर्माण ढिलासुस्ती र गुणस्तरहिन सडककै कारण खोटाङमा कोही बिरामी परेमा काठमाडौं ल्याउन हेली चार्टर गर्नुपर्ने अवस्था छ । कांग्रेस नेताहरुले पनि सडकको दुरावस्थाका कारण नै हेली रोज्नुपरेको बताएका छन् ।

प्रतिक्रिया