पहिरोका कारण दुई जिल्लामा विद्युत अवरुद्ध

0
506

खोटाङ असोज–४, वर्षापछिको पहिरोले पोल ढालेका कारण खोटाङ र ओखलढुङ्गामा विद्युत अवरुद्ध भएको छ । दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेघाटमा शुक्रबार बिहान गएको पहिरोले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत अवरुद्ध भएको हो ।

दिक्तेल–गाईघाट ३३ केभी प्रशारणलाईनको विद्युत पोलमा पहिरोले क्षति गर्दा शुक्रबार बिहान सात बजेदेखि दुवै जिल्लामा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेश महतोले बताउनुभयो । पहिरोले चार वटा पोल पूर्ण रुपमा क्षति गर्नुका साथै तीन वटा पोल ढालेको छ । अवरुद्ध विद्युत पुनः सञ्चालनमा ल्याउन शुक्रबार नै सामग्री सहित प्राविधिक टोली घटनास्थल पठाइए पनि विद्युत सुचारु गराउन नसकिएको जनाईएको छ ।

हप्ता दिनसम्म परेको भारी वर्षापछि गएको सुख्खा पहिरोका कारण अवरुद्ध विद्युत कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरण समेत बेखबर छ । दुई दिनदेखि विद्युत अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् ।

विद्युत अवरुद्धका कारण दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार/व्यवसाय तथा बैङ्क तथा वित्तीय करोवार प्रभावित भएको छ ।

प्रतिक्रिया