रेमिट्यान्स सदुपयोग गर्ने घरपरिवारलाई कृषि सामाग्री

खोटाङ जेठ–२५, खोटाङमा वैदेशिक रोजगारीमा संलग्न घरपरिवारलाई कृषि सामाग्री प्रदान गरिएको छ । कृषि कर्मबाट आम्दानी तथा बचत गर्दै वैदेशिक रोजगारीमा गएका आफन्तले पठाएको रेमिट्यान्स सदुपयोग गर्ने परिवारका समुहहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि सामाग्री बितरण गरेको हो ।

नगरपालिकाका एक नम्बर वडामा पर्ने दिक्तेल, दुई नम्बर सोल्मा, ४ नम्बर खाल्ले र ५ नम्बर वडा लफ्याङका ६ वटा कृषि समुहका करिब सय जना सदस्यले लाभ लिने गरी सामाग्री प्रदान गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सिल्पलिङ प्लाष्टिक, हिलटेक, पाईप, बीउवीजन लगायत तीन लाख रुपैंयाँ बरावरको सामाग्री प्रदान गरेको सोही नगरपालिका अन्तर्गतका सुरक्षित आप्रवासन परियोजना(सामी)का कार्यक्रम ओजोनबावु आचार्यले सुनाउनुभयो । यसअघि नै वैदेशिक रोजगारमा संलग्न व्यक्तीका घरपरिवारका सदस्यहरु सम्मिलित कृषि समुहहरु गठन भएको संयोजक आचार्यले जनाउनुभयो ।

समुहका सबै सदस्यले सामीले प्रदान गरेको रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी २८ हप्ते वित्तीय साक्षरता कक्षा तालिम लिएका छन् । तालिममा सहभागी सबैले कुनै न कुनै रुपले कृषि उत्पादन गरि आयआर्जन गरिरहेको बताईएको छ । समुहमा समाबेश सदस्यहरुले दैनिक जिविकोपार्जनका लागि आयमुलक कृषि उत्पादनलाई प्रमुख कार्य बनाएका छन् ।

यस पटक सक्रिय कृषक समुह, लफ्याङ, वैदेशिक सिर्जनसिल सक्रिय कृषक समुह, खाल्ल, खानीडाँडा, वैदेशिक सक्रिय कृषक समुह, सेरा, वैदेशिक रोजगार कृषक समुह, सोल्मालाई सामाग्री हस्तान्तरण गरिएको छ । यस्तै, दिक्तेलबारी नोभे वित्तिय कृषक समुह, दिक्तेल, नोभे र वैदेशिक रोजगार सृजनसिल कृषक समुह, दिक्तेल, डाँडाछापलाई नगरपालिकाले कृषि सामाग्री हस्तान्तरण गरेको छ ।

कृषि कर्मबाट आम्दानी बढाउने तथा वैदेशिक रोजगारीको रेमिट्यान्सलाई सदुपयोग घरपरिवारलाई गत साल पनि नगरपालिकाले कृषि सामाग्री प्रदान गरेको थियो ।