नियात्रा ! “शंघाई देखि हुनान सम्म ।”

0
260

  – भिम राई, बुइपा खोटाङ,  हाल वेलायत

कोठा चौप्पटै अँध्यारो थियो । म निन्द्रा बाट अचानक ब्युझे । भित्ते घडि  आफ्नै गतिमा दगुरि रहेको थियो । घडि बाट निस्केको टक टक आवाज आफ्नै कानमा गुन्जि  रहेको जस्तो आभास हुन्थ्यो । बत्ति बालेर भित्ता तिर फेरि एक सर्को नजर डुलाए । भित्ते घडीको सुईले बिहानीको ५ बजाउन हतार गरे जस्तो लाग्यो ।

आज हाम्रो शंघाई बसाईको अन्तिम दिन थियो ।

हामी दुबै जना उठे पछि म सुटकेस गुडाउदै अगाडि अगाडी र तारा मेरो पछी पछी मलाई पछयाउन थालिन । अनि बिरालोको चालमा होटलको कोठा बाट बाहिर निस्कियौ । र आठौ तलामा रहेको लिफ्ट नजिकै पुगेर यसलाई पर्खन थाल्यौ । केहि समय पछि लिफ्ट आफ्नै गतिमा आईपुग्यो ।

अनि लिफ्ट भित्र पस्ने बितिक्कै –

“साच्चै यस्तो शुन्दर शंघाई छाडन लाग्दा कति मन रुन्छ हगी ।” ताराले मुख खोलिन ।

“किन सुर्ता गर्ने ? आखिर पटक पटक आई हालिन्छ ?” मैले शान्त्वना दिने प्रयत्न गरे । त्यै पनि, खै किन हो किन ? उनले मेरो भनाई प्रति त्यति बिश्वास गरिनन् । हल्का मुस्कान मात्र छाडिन ।

 

करिब ३ करोड जनसंख्या भएको शंघाई शहर पुगे देखि ‘द रिभर साइड’ होटलमा बसेका थियौ । यो होटल शंघाईको बीच भागमा बहने ‘ह्याङ्गपु नदी’ को बायाँ किनारमा अबस्थित छ । अथवा गुगलको मानचित्रमा हेर्ने हो भने ‘वाई तान’ बन्ड डिस्ट्रिकको बिचौ बीच भागमा रहेको छ ।

हाम्रो कोठा होटलको आठौ तलामा थियो । हरेक रात होटलको कोठा बाट रंगिन बत्तिहरुले सजिएको फुदोंग डिस्ट्रिक क्या शुन्दर देखिन्थे । अझै नदि पारी रहेको पर्ल टावर र शंघाई टावरको रमाइलो रात्रि कालिन दृश्य यहा शब्दमा बर्णन गर्नै सकिन्न । १२८ तले ‘शंघाई टावर’ ६३२ मीटर अग्लो अथवा बिश्वको दोश्रो अग्लो घर हो । तर संसारको सबैभन्दा अग्लो ‘बर्ज टावर’ (८२८ मिटर) दुबई लाई हामीले पहिले नै चक्कर मारेको थियौ ।

शंघाई यस पटक हाम्रो बेइजिंग पछिको दोश्रो गन्तब्य थियो । त्यसपछी क्रमश: ३ हप्ताको लागि हुनान (जांग जाच्चे) छांङ्स (ओरेन्ज आइल्याण्ड), साओसान (माओको जन्मस्थल), सेनजन, हंगकंग र मकाउको भ्रमण तय भएको थियो ।

अ…..यसरि यहाको अन्तिम बसाई लाई सोच्दै गर्दा लिफ्टले हामीलाई होटलको लबीमा पुर्यायो । त्यसपछी सरासर ब्रेकफास्ट खाने कोठा तर्फ लाग्यौ । त्यहा पुग्ने बितिक्कै सुकोमल अनुहारकी धनि ‘फुयुयान’ संग एक – एक कप चिनिया चिया माग्यौ ।

चिया आयो । ‘युलांग चिया’ को पहिलो घुटकि घाटी बाट ओरालो लागेर बिलिन हुन नपाउदै मुख्य द्वारमा एक जना ठिट्टा देखा परे । यति बिहानै उनि अचानक त्यहा देखिएकोले हाम्रो ट्याक्सी चालक हुन कि भनेर मैले अन्दाज काटे ।

नभन्दै, मेरो अन्दाजले मेल खायो । उनि म नजिकै आएर –

“नी हाउ, चाओ साङ् हाउ ?” पहिलो बाक्य मै तर्फ हाने ।

यी चिनियाहरुको मानिसलाई सत्कार गर्ने शब्दहरु पनि अचम्मैको हुने रहेछन् । बिहान सबेरै देखि ९ बजे सम्मलाई ‘चाओ सांङ्’ अनि १२ बजे सम्म ‘साङ् वु’ अनि ठेक्कै १२ बजेलाई ‘चोङ् वु’ त्यसपछी दिउसोको समयलाई ‘स्या वु’ बेलुकीलाई ‘वान साङ्’ र अन्तिममा शुभरात्रि लाई ‘वान आइन’ भन्ने रहेछन । ठेक्कै, हामी नेपालीहरुको जस्तो एउटा ‘नमस्ते’ ले दिनभरी नभ्याउने रहेछन्, यहा ।

खयर जे होस, “वमन हन हाउ, नी ना ?” गाउघर तिर ट्युन नमिलेको रेडियो नेपाल झैँ उनलाई सोझै उत्तर फर्काई दिए |

“व हन हाउ” भन्दै उनि रिसेप्सनिस्ट भए तिर गए । त्यसपछि रिसेप्सनिस्ट संग दुई-चार सर्को कुरोकानी गरे ।

हामी यति बेला सम्म चिनिया उप पत्निहरुको धनि पूर्व सम्राटहरुले पिउने युलांग चियाको स्वादले अन्तिम पटक घाँटी भिजाउदै थियौ ।

केहि क्षण पछी उनि हाम्रो छेउमा आए । अनि उनले हामी प्रति एक्कै शब्द खर्च गरेनन । बरु हाम्रो समान भट्टाभट ट्याक्सीमा राख्न थाले ।

हामी पनि उनको ट्याक्सी भित्र पस्यौ । उनको यस्तो तडक भडक प्रति अलिकती शँका लाग्यो । मैले ‘सिट बेल्ट’ ले मेरो जिऊ बेर्न नपाउदै फुदोंग विमानस्थल सम्म जाने भाडा कति हो ? भनेर प्रश्न तेर्स्याए ।

उनले थोरै अंग्रेजी र धेरै म्यान्डरिन भाषामा बोले । उनको भाषा प्रति मलाई केहि असहजता महसुस भयो । किनभने उनले बोलेको धेरै जसो कुरो बुझेकै थिइन । तारालाई ‘कागलाई बेल पाक्यो हर्ष न बिष्मत’ भने झैँ थप्पकै ट्याक्सीको पछाडी पसिन, अनि आरामले जिऊ तन्काउदै बसिन । तै पनि मैले कता कता ‘डबल भाडा’ भन्ने सम्म बुझे । त्यसैले थोरै सशँकित भए । र के गर्ने होला, भनेर मन भित्र हल्का चिन्ता पैदा हुन थाल्यो ।

‘यी फनजंग’ अथवा एक क्षण !

भन्दै ट्याक्सी बाट ओर्ले । सानो तै पनि तिन चाउरि परेर कच्याक कुचुक भएको थोत्रो मुहार लिएर फेरि होटल भित्र पसे । ट्याक्सी भाडाको बिषयलाई लिएर रिसेप्सनिस्ट सँग केहि बोलि दिन अनुरोध गरे । किनभने उनकी अङ्ग्रेजि धेरै राम्रो थिए । तर मेरो आग्रहलाई उनले ठाडै अस्विकार गर्दै –

‘महासय ! यो मेरो कर्तब्य भन्दा बाहिरको काम हो,’ मलाई बाया छातीमा बाण प्रहार गरिन अनि कम्बर मस्काउदै स्टोर भित्र पसिन ।

उनको यस्तो रुखो जबाफ र ब्यबहारले म स्तब्ध भए । पुर्पुरोमा हात राखेर युद्धमा हारेको सिपाही जस्तै लुरुलुरु ट्याक्सी तर्फ फर्के । अब ट्याक्सीमा आई नपुक्दै –

‘के भो ? किन कालो निलो अनुहार’ तारा बाट प्रश्नहरु बर्सिन थाले ।

‘केहि होइन, चालकले भाडा डबल भने जस्तो लाग्यो’ जबाफ फर्काए ।

‘आउनु भो कि शंघाई,’ अनुहार सुकेर चाउरी परेको मरिच झैँ पारिन ।

‘केहि बिग्रेको छैन, जे हुन्छ सहि हुन्छ’ भन्दै पुन: ट्याक्सीमा बसे ।

अब बाटो लाग्यौ ।

सरर गाडी जर्मनको र बाटो चाइनाको हुँदै । बाटोको वारी पारी शंघाईको गगन चुम्बी महलहरु कति सुन्दर देखिन्थे । अझै भनौ, माथी क्षितिज बाट झरेको मिर्मिरे उज्यालो, जमिन संग भर्खर भर्खर लुकामारी खेल्दै गरेको जस्तो आभास हुन्थे । पापी मन भित्र डबल भाडाले उब्जाएका प्रश्नहरु जीवितै थिए । तै पनि शंघाईको रमाइलो नजरमा डुबुल्की मारी रहेको थिए । लाग्दथे, यहाको चिल्ला सडकहरु हज्जारौ पटक भत्कियर टालिएका त्रिभुवन बिमानस्थलको अनुहार भन्दा बिलकुलै फरक थिए । यस्ता फराकिलो र चील्ला सडकहरुमा ट्याक्सीले लिएको गति नेपालको जस्तो ‘बम्पी’ अन्तरास्ट्रिय बिमानस्थलमा जहाजले उडान भर्दै गर्दा लिने (भि वान) गति भन्दा धेरै आरामदायी रहेको महसुस गर्दै थिए ।

यात्रा क्रमश: अगाडी बढ्दै थियो ।

अचानक ट्याक्सीको मिटर बाट ‘टिङ्गरिंग’ आवाज आयो । के को आवाज होला भनेर हत्तार मन्टो फर्काए । घडिले बिहानको ठिक ६ बजाएको रहेछ । अब बाकी समयको भाडा डबल नहुने कुरो चालकले जानकारी गराए । उनको यस्तो कुरो सुने पछी केहि राहतको अनुभूति मिल्यो । आखिर मेरो लोभी मन न हो ।

हाम्रो फ्लाईट बिहानको थियो । त्यसैले सबेरै विमानस्थल तर्फ हाकिएका थियौ । यहाका बाटोहरु तनन टागिएका धागो झैँ सिधा देखिन्थे । कुनै कुनै समय यस्तो लाग्दथो । यति ठुलो ८ लेनको बाटोमा सायद हामी मात्रै छौ । अनि यति फराकिलो बाटोमा पनि कुनै कुनै बेला चालकले दाया र बाया लेनमा गाडी दगुराउदा कि नियन्त्रण भन्दा बाहिर गयो कि भन्ने शंका गर्दथे । उनको यस्तो अनियन्त्रि गाडी चलाई बाट मन भित्र कता कता चिसो पस्दथ्यो । र बेलायतमा छाडी आएको छोरा छोरीलाई सम्झन्थे । छोराको मेम्बर अफ रोयल कलेज सर्जन (एम आर सि एस) र छोरीको लिगल प्राक्टीस कोर्स (एल पी सि) को परिक्षा तयार गर्नु थियो । त्यसैले तारा र म मात्रै चिन तिर बरालिदै थियौ । तै पनि उनको यस्तो गाडी चलाइ देखेर ढुक्कले बस्न सकि रहेको थिइन । बरु उल्टै डरले घरि घरि आफै ब्रेक हेर्काउन खुट्टा तन्काइ रहन्थे |

‘अहो…..! कति गज्जब, बेइजिंगमा झैँ शंघाईमा ट्राफिक देखिन्न रहेछ ।’ ताराले दोश्रो पटक मौनता भँग गरिन ।

‘ए बाबा, ट्राफिकको रमिता हेर्न आजकाल गौशालाको उकालो जानु पर्छ क्या, अनि बैंककको याद बिर्स्यौ ?’ हल्का छडके दिए ।

अब ट्याक्सीको रफ्तार झन बढदै गयो । यिनको गाडीको रफ्तार हेर्दा यिनी पनि फर्मुला वानको चालक ‘लुइस ह्यामिल्टन’ हुन कि भन्ने आभास हुन्थ्यो । हरेक वर्ष हुने ‘फर्मुला वान’ चाइनिज ग्राण्ड प्रिक्स भर्खरै शंघाईमा सकिएको थियो । सायद यिनले पनि तिनै ग्रान्ड प्रिक्स सम्झेर यति ठुलो बाटोमा केहि अभ्यास गरौ भन्ने ठाने होलान ।

अब लगभग एक घण्टा यात्राको पर्दा बन्द हुदै थियो । किनभने हाम्रो सिधै अगाडी फुदोंग विमानस्थलको साइनबोर्ड देखा पर्यो । केहि समय पछी उनले प्रस्थान कक्षा अगाडी गाडी रोके । त्यसपछी मैले केहि नबोली मिटरमा उठेको युवान थप्पकै टक्रयाए । चिनियाहरुले युवानलाई कम्युनिस्ट भाषामा “जनताको पैसा रिन्मिन्बी” पनि भन्ने गरेका छन ।

चालकले बिदा लियो । त्यसपछी हामी सरासर विमानस्थल भित्र पस्यौ ।

‘फुदोंग विमानस्थल’ संसारको नबौ ब्यस्त विमानस्थल हो । यहा देखि विभिन्न १०२ एअरलाइन्सहरुले विश्वको २१० स्थानमा सेवा प्रदान गर्दै आई रहेको छन । यहा पुगेर पुन: एक पटक मेरो त्रिभुवन अन्तरास्ट्रिय विमानस्थललाई राम्ररी सम्झे । किनभने हंगकंग, सिंगापुर, बेइजिंग, बैंकक, सियोल, दिल्ली, दुबाई, दोहा, फ्रांगफार्ट, आम्सटार्डम, रोम, पेरिस, लन्डन, न्युयोर्क, वासिंगटन र टोरोन्टो विमानस्थलहरु जहाँ जहा पुगे । अनि त्यहा त्यहा पुगेर नेपालको एक मात्रै  अन्तरास्ट्रिय विमानस्थल संग राम्रो तुलना गर्ने गरेको थिए । अनि मनमनै गुगल म्यापको सहराले हाम्रो बिमानस्थललाई कसरि फैलावट गर्न सकिएला भनेर कोरा कल्पना गर्दथे । यहा पनि मेरो त्यहि रुटिन दोहर्याएको थिए ।

समय नदि झै बही रह्यो । मेरो घडीको सुईले बिहानको ठिक ८ बजायो । घरेलु फ्लाइट शंघाई एअरको काउन्टर खोज्न हामीलाई करिब १५-२० मिनेट समय खर्चन पर्यो । यसरी हामी भौतारी हिडेको देखेर ताराले आज यतै बास पर्छ कि कसो सम्म भनिन् । यति ठुलो बिमानस्थलमा यो सामान्य प्रक्रिया हो, भनेर टारे ।

बल्ल बल्ल भेटेको काउन्टर नजिक्कै पुगेर चिनिया युबतिलाई फ्यास्स मुस्कान छाडी दिए । कम्मरमा फ्याट्टै बोसो नभएकी पातलीले हाम्रो समान चेक इन गरिन । त्यसपछी अध्यागमनमा शरीर जाँच गर्दै गर्दै जहाज भित्र पस्यौ ।

जहाजमा नेपाली हामी दुईजना मात्र थियौ । अन्य सबै स्थानीय मुलका मानिसहरु थिए । प्राय जसो मानिसहरुले प्लास्टिकको झोलामा समान बोकेको देख्दा गाउ बाट सहर घुम्न आएका हुनकी भन्ने भान पर्दथ्यो । यतिबेला मैले पनि लामिडाँडा बाट कैयन पटक काठमाण्डौ आउदा जेब्रा झोलामा बोकेका समानहरुको याद बेस्सरी गरे । तर मेरो गाउमा यहाको जस्तो ठेक्कै पाकेका स्याउ जस्तै रातो पिरो अनुहार भएकी युबतिहरु देख्न पाईन्नथ्यो । अझै यहा खै के भन्नु – कसै कसैको क्रिम पनि अनुहार भन्दा बाहिर सम्म पोतेका पनि यहि देखिए । तर छोटा छोटा हाप पाइन्ट र सेता साप्राले आकर्षण गर्दा काशी हिडेका बुढाहरुको मन पनि यतै फर्कन्थे कि जस्तो लाग्दथ्यो ।

जहाज भित्र पस्यौ । सबैले आ-आफ्नो सरसमान मिलाए । केहि क्षणमा जहाज उड्यो । जहाज भित्रका बाताबरण मधेशको माछा पशल जस्तो थिएन । एकदम शान्त एबम शुसिल । अझ भन्यौ, अंग्रेजी फुटबल हेरिरहेका अंग्रेजी भट्टी पशल जस्तो बाताबरण पटक्कै थिएनन् । तै पनि त्यस्तो शान्त बाताबरणको दुश्मन तिनै परिचारिकाहरु थिए । जसले जहाज भित्र ओहोर दोहोर गर्दा निकालेका जुत्ताको टक टक आवाजले एकाध शुन्यतालाई भंग गर्दथे । यती शान्त बाताबरणको फाइदा लिएर म चाहि अलिकति निन्द्रा देबीको शरणमा परेर घुर्न थाले ।

केहि समय पछि मलाई ताराले ब्युझाईन । एउटा आँखा खोलेर घडी तर्फ एक सर्को नजर मारे । बिहानको ठिक १० बजेको रहेछ । त्यसपछि दुबै आँखा खोले । बाहिरको मौसम अति सफा थियो ।

खुशिले गदगद हुदै दायोंग बिमानस्थल, जाङ्जाच्चेमा उत्र्यौ ।

हो……! केहि हर्ष र केहि उत्सुकताक साथ । जिन्दगिको पहिलो पाईला हुनान प्रान्तमा पर्यो । अनि सरासर ‘कन्भेएर बेल्ट’ देखि समान लिएर बिमानस्थल बाट बाहिर निस्कियौ ।

यसरी बाहिर निस्कने क्रममा हामीलाई चिने झै गरेर एक जना मान्छे हाम्रो नजिकै आए । अनि उनैले मुख फोडे ।

‘नी जम्मा यांग ?’

जे सुकै परोस भनेर ‘फे चाङ हाउ’ सबै राम्रो छ, भन्दिए । त्यसपछि –

उनि म संग हात मिलाउन उनको हात अगाडी बढाए । ‘के खोज्छस कानो, आँखो’ भने झैँ म पनि के कम ? प्रसन्न हुदै उनि तर्फ हात तेर्स्याए ।

उनले ‘चु जु छ’ भने । त्यसैले मनमनै ट्याक्सीको चालक रहेछ भन्ठाने । चिनियाहरुको भाषा एकदम मिलेर बनेका हुन्छन । जस्तै : जि सिङ छ (साइकल) मो टाउ छ (मोटर साइकल) छि छ (कार) का छ (ट्रक) गङ गङ छि छ (बस) र हो छ (रेल) इत्यादि ।

अब उनैले हाम्रो सुटकेसहरु मागे । अनि सलल गुडाउन सुरु गरे । यती बेला तारा र म ठुलै सेलेब्रेटी झैँ बन्यौ । र सरासर उनको पछी पछी लाग्यौ । तर हाम्रो सेलिब्रेटि मन त्यति लामो टीक्न सकेन । किनभने उनले सुटकेसहरू बिस्तारै ट्याक्सीको लाइन छाडेर कार पार्क तर्फ गुडाउन सुरु गरे । त्यसबेला मोरोले मलाई झसङ्ग बनाए । एक क्षण टोलाए । अनि दाया (याउ बिएन) बाया (चौ बिएन) हेरे । त्यसपछी पछाडी (हौ बिएन) हेरेको त तारा केहि पर आउदै रहेछिन ।

अनी कार पार्कमा पुगे पछि पो चाल पाए । उनि ट्याक्सी चालक नभएर प्राइभेट कारको चालक रहेछन् । अहो…! फेरि फसिएछ, जस्तै लाग्यो । अब यसले कति डाडने होला, फेरी मुटुमा ढोल बज्न सुरु गर्यो । बिस्तारै हिडने तारा बल्ल मेरो नजिक्कै आई पुगिन ।

‘के हुदै छ, ट्याक्सी….?’ अचानक मेरो कानमा ताराको अवाज ठोकियो ।

‘खै के भन्ने भन्ने ? धर्म संकटमा छु ।’ मुख खोले ।

अब खिया परेको मेण्डरिन तिखार्न सुरु गरे । बस पार्क सम्म जाने भाडा कति ? उनले यी बाई (एक सय) भने । मैले स्र यु (पचास) भन्दा बढी दिन्न भने ।

के गर्ने ? चिनिया भाषाको नम्बरहरु कन्ठस्त थियो । तै पनि कुनै कुनै समयमा उच्चारण नमिलेर एउटा कुरो भन्दा अर्को बुझिन्थे । बास्तबमा ‘टनल ल्याङगुज’ एकदम अफ्ठ्यारो भाषामा पर्दछ । आज चाही खै के भो कुन्नी ? उनले मेरो कुरो बुझे छन क्यारे । त्यसैले बुढी औला उठाएर सहमती जनाए । तर अर्को टयाक्सीमा गएको भए अझै सस्तो पर्थ्यो कि ? भन्ने मनमा भै रहयो ।

बस पार्कमा पुग्यौ । युलिंगयान जाने बस खोज्न सगरमाथा चढ्नु जतिक्कै गाह्रो भयो । चिनियाहरुको भाषा, जाङ्गजाच्चेको गर्मि र ताराको प्रश्नले मेरो कमिज लुथुक्क्रै भिज्यो । अरु के के भिजे कुन्नि ? तै पनि दिन पर्बत थियो, त्यसैले हिम्मत हारेको थिइन । मेरो यस्तो हालत देखेर घुम्नु भयो कि संसार ? ताराले कुशब्द प्याच्चै ओकलिन । तर केहि नसुने झैँ गरे । ‘तित्राको मुखै बैरी’ भन्न मन लागेथ्यो । मैले नि मेरो मुख बारे । बरु झोला बाट पानी निकालेर पिए ।

अलिकति हिडदै पश्चिम तर्फ गए । नजिक्कै नुडल्सको पशल थियो । अब दुई वटा नुडल्स (मिनथेउ) र कोक (कल) मगाए । फेरि यस्तो उखरमौलो गर्मिमा नुडल्स तारा गनगनिदै आई पुगिन । यसपाली चाहि यस्तो खान पाएकोमा भाग्य सम्झनु नि भन्दिए । त्यहा खाना खादै गर्दा दोकाने सङ बिस्तारै युलिंगयान जाने बस चिनाई मागे ।

उनले चिनाइ दिएको बसमा चढ्यौ । करिब १ घन्टाको यात्रा पश्चात गन्तब्यमा पुग्यौ । बस स्टेसन बाट फेरि ट्याक्सी लिएर ‘पुलम्यान जाङ्गजाच्चे’ होटलमा पुग्दा थाकेर लखतरण परेको थियौ । त्यसैले त्यस दिन मज्जाले होटलमा आराम गर्यौ ।

भोली बिहानै खाजा खायौ । होटल म्यानेजर सङ भेटन खोजे र भेट भयो । उनी राम्रो सङ अँग्रेजि बोल्दथे । उनैले कुन कुन ठाउ जाने भनेर हामीलाई राम्रो सल्लाह दिए । त्यति मात्रै होइन, त्यहा बसिन्जेल सम्मको लागि सानो भ्रमण योजना पनि बनाई दिए ।

उनैको योजना अनुरुप चल्यौ । सबैभन्दा पहिले ट्याक्सी लिएर रास्ट्रीय निकुन्जमा पुग्यौ । निकुन्जको टिकट किन्नको लागी । टिकटको मुल्य प्रती ब्यक्ति २५८ युवान पर्ने रहेछ । जुन टिकटले तिन दिन सम्म निकुन्जमा प्रवेश गर्न सकिने रहेछ । हामीले पनि तिन दिनको लागि टिकट खरिद गर्यौ ।

‘जाङ्गजाच्चे रास्ट्रीय निकुन्ज’ हुनान प्रान्तको अभिन्न अङ्ग हो । अध्यक्ष माओको जन्म पनि यहि प्रान्तको साओसान भन्ने गाउमा भएको थियो । तर सबैभन्दा मुख्य कुरो चाही यहा लाइमस्टोन बाट शृंखला बद्ध तरिकाले बनेका पर्बतहरु सार्है अचम्मका देखिन्छन् । र तिनै पर्बतहरु हेर्नको लागि प्रक्रिति प्रेमी मानिसहरु संसार भरि बाट यस स्थानमा ओइरिने गरेकाछन् । अझै सन् १९९२ बाट जाङ्गजाच्चे रास्ट्रीय निकुन्ज बिश्व सम्पदा सुचिमा परेपछि यो अति नै प्रख्यात एबम ब्यस्त भएको छ । त्यति मात्रै कहा हुनु ? बिश्वको सबैभन्दा अग्लो शिसा बाट निर्मित (जाङ्गजाच्चे ग्लास ब्रिज) पनि यही रहेको छ । जसको लम्बाई १४१० फिट र उचाई ११८० फिट छ । हरेक दिन ८ हज्जार पर्यटक भित्र्याउने यसको निर्माण सन २०१६ सालमा भएको हो । त्यस्तै विश्वको सबैभन्दा लामो केबल कार (७,४५५ मिटर) यहि रहेको छन । अनि यहा रहेको १०७० फिट अग्लो ‘बेइलोङ एलिभेटर’ घर बाहिर रहेको सन्सारको सबैभन्दा गर्है र अग्लो हुन आएको छ ।

सबैभन्दा पहिले बेइलोङ एलिभेटर जाने योजना बनायौ । त्यसैले भरखरै किनेको टिकट देखाउदै मुख्य द्वार बाट भित्र छिर्यौ । भित्र बडेमाको कोच पार्क रहेछन । जहा अन्दाजि ८०-९० वटा कोचहरु पार्क गरिएका थिए । अब कुन कोच कुन ठाउमा जाने होला भनेर पत्ता लगाउन हम्मे हम्मे परि हाल्यो । ‘भाग्यमानीको भुतै कमारो’ भनेझै एक जना अमेरिकन खैरे सङ जम्काभेट भयो । उनि यस ठाउमा पहिलेनै दुई चोटि आई पुगेको रहेछन । उनैले हामी चढने कोच पनि देखाइ दिए ।

त्यसपछी उनैले देखाइ दिएको कोच बाट बेइलोङ एलिभेटर तर्फ लाग्यौ । मौसम अति रमाइलो थियो । अग्ला अग्ला पहाडहरुको बिचै बिच आरामदायी कोच हुईकिदा अति आनन्दित भयौ । साच्चै भन्ने हो भने जङगल र खोलाको किनारै किनार जादा यहाको द्रिश्य कति शुन्दर र मनमोहक देखिन्थे । कोचमा अचानक एक जना जर्मन भुगर्बशास्त्रि महिला सङ भेट भयो । उनले यि पहाडहरुको निर्माण कसरि भएका हुन भनेर हामीलाई पाठ पढाउदै लगिन । जसले यात्रालाई रमाइलो र ज्ञानबर्दक बनाउन थप उर्जा दिलायो ।

केहि समय पछि एलिभेटर भन्दा मुनिको भागमा पुग्यौ । र त्यहा बाट देखिएका डाँडाकाडा सङ रम्न थाल्यौ । अलि अलि हिडदै उकालो लाग्यौ । जहा बिभिन्न प्रकारको सुठुनि, मकै, उसिनेको भटमास, सर्प, कुकुर, बिरालो र गोरुको मासुहरु बेच्ने दोकानहरु छयास छयास्ती देखिए । मलाई पनि ठुलो भाडामा भुलुलु उम्लिरहेको गोरुको आन्द्रा भुँडि देखे पछि कहि नभएको भोक लागेर आयो । प्लास्टिकको प्लेटमा १५ युवानको आन्द्रा भुँडि मगाएर तारालाई पनि अलिकति दिन खोजे । बरु उल्टै बिच्किइन पो । त्यसैले म एक्लैले खपाखप हसुरे ।

गोरुको आन्द्रा भुँडि खाएको जोसमा एक्कै क्षणमा एलिभेटरको फेदिमा पुग्यौ । त्यहा बाट उकालो हेर्दा एलिभेटरको टुप्पा चाही अन्तरिक्ष स्टेसन जति नै माथी माथी भए जस्तो लाग्यो । अह…. मैले त्यहा चढने साहस सपनामा पनि कल्पना गर्न सकिन । र तारालाई एक्लै पठाउने योजना बनाए । उनि झन के मान्थिन, जादै गइनन ।

भोली बिहानै हामी टेन्जी पर्वत तर्फ लाग्यौ । सटल बसले केवल कार चढने स्टेसन सम्म पुर्याए । केवल कार बाट लगभग २२ सय फिट माथी पुग्दा कता कता डर लागेको महसुस भै रहन्थे । तै पनि यहा बाट रमणीय पर्बतहरुको दृश्य देख्दा मनमा लागेका त्राश हटाउन सजिलै सकिन्थे । अझै डाँडाहरुको टुप्पा बाट समय समयमा मुनि उपत्यकामा सेताम्मे बादलहरु देखिन्थे । सेता बादलहरुका बिच बिचमा देखिएका पर्बतहरु हेर्दा भर्खरै फक्रन लागेका च्याउ झैँ कति रमाईला थिए । यतिका राम्रा द्रिश्य देख्दा ताराले पटक पटक छोरा छोरिको याद गरि रहिन । म चाहि ‘शंघाई देखि हुनान’ सम्मको यादलाई कहिले मेरो दिमाग बाट नबिर्सने गरेर सम्झिरहे ।

                                                                   अक्सफोर्ड, बेलायत

 

प्रतिक्रिया