खोटाङ २६ कात्तिक
चाहे कांग्रेस, चाहे माओवादी, या एमाले नै कोही किन नहाेस् बिरामी पर्यो या केही भएमा त्यहीँ ठाउँमा खुरुरु पुग्ने त्याे व्यक्ति हो विशाल भट्टराई‘ ।
कसैले भनेको कुरा नाई भन्न नसक्ने र इमान्दारितामा एक इन्च दायाँ बायाँ नगरेका कारण पनि उनी खोटाङमा परिचित छन् । कतिपय पूर्व माननियको नाम समेत थाहा नहुन सक्छ जिल्लाका मतदातामा । अर्कातर्फ विशाल भट्टराई कुन पार्टीको भन्ने थाहा नहुन सक्छ तर  उनको नाम भने धेरैलाइ थाहा  भएको समेत पाइएको छ ।
उनै विशाल भट्टराईलाई उनको पार्टी नेकपा एमालेले समेत विश्वास गर्दै वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उम्मेदवार हुने गरी खोटाङबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फकाे टिकट दिएको छ । उनी यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवार हुन् । चुनावी तालमेल अन्तर्गत वाम गठबन्धनका कारण नेकपा माओवादी केन्द्रको भोट समेत उनलाई थपिने हुँदा उनको जित भने सुनिश्चित नै बनिसकेको राजनीतिक पण्डितहरु व्याख्या गर्छन् । स्थानीय तहको मतपरिणाम जोड्ने हो भने, उनी १४ हजार बढी भोटले कांग्रेस उम्मेदवार भन्दा अघि छन् । त्यसो त उनी आफू १५ हजार भन्दा बढी भोट अन्तरले कांग्रेस उम्मेदवारसँग विजयी हुने दावा गर्छन् ।
‘हामीले संविधानसभाको दोश्रो निर्वाचनमा जे कुरा पुरा गर्छौ भनेर भोट मागेका थियौं, त्यो पूरा भएको छ ।’  उनी भन्छन्, ‘यसपटक १५ हजार बढी मत ल्याएर जित्ने विस्वास लिएको छु ।’
भट्टराई खोटाङको विकास निर्माणमा चासो र तत्परता देखाउने एउटा अग्रणी पात्र हुन् । उनकै भनाई अनुसार गाईघाट–दिक्तेल मोटरेवल बाटोको लागि केपी ओली प्रधानमन्त्री हुदाँ आफ्नो नेतृत्वमा गएर अर्थमन्त्री विष्णु पौडेललाई भेटेर दुई अर्ब ६८ करोड रकम विनियोजन गर्न लगाएका हुन् । जुन बाटो अहिले कालोपत्रेको काम भइरहेको छ । 
उनी भन्छन् ‘हामी निर्वाचित भएपछि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जोड्ने सगरमाथा स्वर्ण चक्रपथ निर्माणको कार्य शुरु गर्नु खोटाङका जनताको लागि ठुलो उपलब्धि रहेको छ । २० वर्षदेखि चिसापानी र ऐसेलुखर्कमा डाक्टर नबस्ने र पोष्माटर्म घर नभएको अवस्थामा मेरो कार्यकालमा अनिर्वाय एमविविएस डाक्टर नियमित बस्ने र पोष्माटर्म घरको पनि निर्माण गरिएको छ । खोटाङबजारमा मालपोत कार्यालय ऐसेलुखर्कमा बैक ईलाका प्रशासन कार्यालयको स्थापना र चिसापानीमा कृषि विकास बैंकको स्थापना गराए र जनतालाई परिवर्तनको महसुस गराएकाे छु र सदरमुकामसँग जोडिने बाटोमा रहेको जयरामघाटको पुल नबन्दा मेरो नेतृत्वमा गएर पुल निर्माणमा ढिला भयो भन्दै धर्ना बसेपछि म राजन राई लगायतले लाठी खानु प¥यो र यो लाठीको उपलब्धिले यो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’
धाप्लाङघाटको पक्की पुल र दूधकोसीको रभुवामा रहेको पक्की पुलको सुरुवात गर्न सफल भएको उनी बताउँछन् । हलेसी क्षेत्रका सुख्खा गाविसहरुमा पम्पिङ प्रविधिबाट खानेपानी पु¥याउने कामको थालनी भएको र झोलुङ्गे पुलहरु धेरै ठाउँमा लगाउने कार्य सम्पन्न उनको भनाई छ । अगाडी उनी थप्छन्, ‘सडक विजुली खानेपानी लगायत थुप्रै काम गरिएको छ ।’

आफूले जिन्दगीमा कहिल्यै नढाटेको भन्दै केही पार्टीले विकास निर्माण लगायत विषयमा जनतामा भ्रम छरेकोप्रति उनी रुष्ट समेत देखिए । ‘कतिपयः पार्टीका साथीहरुले अनावश्यक हल्ला गर्दै जागिर लगाइ दिन्छु जस्ता झुट कुरा पहिले पनि गरेका थिए र अहिले पनि गरेर हिडेका छन् ।’ उनी भन्छन्, ‘मुलतः लामो समयदेखि परिवर्तनको पक्षमा रहेका नेपाली जनतालाई न्याय दिने काम संविधान निर्माण पश्चात भएको छ । मैले २०७० सालको संविधानसभाको निर्वाचनको टिकट पाउनु अगाडि र पाएपछि कुनै समय ढाँट्ने काम गरिन । कसैलाई झुटा आश्वासन दिएर हिडिनँ । यो नै जनताको पक्षमा मेरो सकारात्मक पक्ष हो ।’