खोटाङ पुस–२३, रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङस्थित हलेसीका आगलागी पीडितलाई प्राथमिकतामा राखी सहयोग गर्ने आश्वासन दिनुभएको छ । रक्षामन्त्री प्रधानले हिन्दु, बौद्घ र किरात समुदायको आस्थाको केन्द्र त्री–धार्मिक एबं पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राती भएको आगलागीबाट प्रभाबित क्षेत्रको निरीक्षण गर्दै यस्तो आश्वासन दिनुभएको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसीबजारमा भएको आगलागीबाट चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निरीक्षणका क्रममा शनिबार साँझ हलेसी आइपुग्नु भएको हो ।
आईतबार बिहान हलेसीको दर्शन गरेर रक्षामन्त्री प्रधानले प्रभावित क्षेत्र निरीक्षण एबं टहरामा रात तथा दिन बिताइरहेका पीडितलाई भेटघाट गर्नु भएको छ । पीडितसँगको भेटघाटका क्रममा रक्षामन्त्री प्रधानले क्याबिनेटमा कुरा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वासन दिनुभएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
रक्षामन्त्री प्रधानले घट्नास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ । आगलागीमा घर सहित सर्वस्व गुमाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदिस दास लगायतका पीडित अस्थायी टहरामा कष्टपूर्ण समय विताइरहेका छन् ।