खोटाङ, माघ–१९, अनेरास्वबियु खोटाङको हालै सम्पन्न २१ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा खेमराज देउसाली सर्वसम्मत निर्बाचित हुनुभएको छ । अनेरास्वबियुको निबर्तमान जिल्ला अध्यक्ष ओमप्रकाश घिमिरेको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा उद्घाटित अधिबेशनबाट देउसाली अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
रावाबेंशी गाउँपालिकास्थित रावा क्याम्पस खार्पामा सम्पन्न जिल्ला अधिबेशनपछि हाम्रो खोटाङ डट कमको जिज्ञासा र नबनिर्बाचित अध्यक्ष देउसालीको प्रष्ट्याँई ।
१,तपाईंको कार्यकालको मुख्य सांगठानिक एजेण्डा अर्थात कार्यहरु के–के हुनेछन् ?
–जिल्लाको शैक्षिक क्षेत्र सुधारका लागि सरोकारवालासँग अन्र्तक्रिया गर्दै स्थानीय तहलाई शिक्षा सुधार बिशेष कार्यक्रम ल्याउन सुझाब तथा दबाव दिने हाम्रो प्रमुख कार्य हुने छ । खोटाङमा सञ्चालित ९० माबि र ६ क्याम्पसमा तत्कालै आफ्नो मजबुद संगठन निर्माण गरी आफ्नो सांगठानिक गतिबिधिलाई अगाडी बढाउने हाम्रो योजना छ । ती बाहेक अन्य बिद्यालय तथा शैक्षिक संस्थाहरुमा समेत शैक्षिक गुणस्तरका लागि अभियान सञ्चालन गर्दै बिद्यार्थी स्वयम तथा शिक्षक–अभिभाबकलाई आफ्नो दायित्वबोध गराउँदै बिद्यार्थीलाई अनुशासित, अध्ययनशील र नियमित बनाउन हाम्रो संगठनले पहल गर्ने छ ।
त्यस बाहेक प्रत्येक बिद्यालयमा स्थानीय अवस्था अनुरुप प्रबिधियुक्त ब्यवहारिक शिक्षामा लगानी गर्न स्थानीय तहले जोड् दिनुपर्छ भन्ने हाम्रो दबाब हुन्छ । अनि, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको बच्चाहरु सामुदायिक बिद्यालयमा नै अध्ययन गराउने अभियानलाई तीब्र रुपमा शुरु गर्ने हाम्रो तयारी छ । यस्तै, शैक्षिक लगायत बिबिध क्षेत्रको सुधार कार्यमा निरन्तर अघि बढ्दै शैक्षिक, सामाजिक लगायत सबै खाले बिकृति तथा बिसंगतिको बिरोधमा हाम्रो जिल्ला संगठन सदैब आन्दोलित हुनेछ ।
२, जिल्लामा अन्य बिद्यार्थी संगठनसँगको सहकार्य तथा कार्यगत एकतालाई कतिको आवश्यक्ता ठाननुभएको छ ?
–जिल्लाको सन्दर्भमा बिद्यार्थी समुदायको हक, अधिकार प्राप्ती र संरक्षण–सम्बद्र्यनका साथै न्याय, स्वतन्त्रता, राष्ट्रियताको रक्षा तथा सामाजिक परिबर्तनका लागि बिद्यार्थी बर्गलाई सचेत बनाउन उदेश्य, बिचार मिल्ने बिद्यार्थी संगठनहरुबीच सहकार्य र कार्यगत एकता निक्कै आवश्यक ठान्छु ।
३, स्वतन्त्र बिद्यार्थी संगठनको निर्णय र गतिबिधिमाथि मातृ पार्टीको हस्तक्षेप तथा दवदवा रहने अर्थात मातृ पार्टीमाथि भातृ संगठन झुक्नुपर्ने अवस्था छ की छैन ?
खोटाङ र हाम्रो संगठनको हकमा अहिलेसम्म त्यस्तो भएको मलाई थाहा छैन । र आगामी दिनमा पनि हुनुहुन्न भन्ने हाम्रो धारणा हो । अनेरास्वबियु खोटाङ आफ्नो निर्णय आफै गर्न सक्षम छ । त्यस कारण पनि पार्टीको हस्तक्षेप हुँदैन ।
स्वभाबिक रुपमा हाम्रा पार्टीका नेताहरु लामो समयदेखि बिद्यार्थी राजनीतिबाटै आउनुभएकाले संगठनलाई सशक्त र चलायमान बनाउन सुझाब दिनुहुन्छ त्यसलाई संगठनमाथिको हस्तक्षेपको रुपमा लिनु हुँदैन ।