– देशपरदेश अनलाईनबाट
खोटाङ जिल्ला रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ र ४ को बिचमा वैदेशिक रोजगार वितिय समुह गठन भएको छ । सोही समुहकी एक सदस्य हुन् मिना बस्नेत । बिहान घाम नझुल्किंदै उनी कक्षामा आईपुग्छिन् । भोली कक्षामा जानु छ भनें अघिल्लो दिन बेलुका नै उनी घरायसी काम सक्छिन् ।
घरमा सासु, २ भाई छोरा छन् । उनका श्रीमान हाल मलेसियामा छन् । १० बर्ष भयो, छुट्टीमा आउजाउ त गरिहन्छन् तर बैदेशिक रोजगारको चक्र भनें चलिरहेकै छ । तर यसबीचमा एउटा कुरामा भनें फेरवदल भएको छ मिनाको ।
वित्तिय साक्षरता कक्षामा सहभागी भइसके पछि उनले विदेशबाट आएको रकमको सदुपयोग कसरी गर्ने भनेर सिकेकी छन् । वैदेशिक रोजगारको मात्र भर परेर त्यही पैसाबाट घर खर्च चलाइरहने हो भनें श्रीमानको बैदेशिक रोजगारको चक्र चलिरहने र भोली काम गर्न नसकेर स्वदेश फर्किपछि आम्दानीको बाटो नहुने बुझेकी उनले आम्दानी खर्चको हिसाब राख्दै केही बचत गर्न थालिन् र भविष्यका लागि आम्दानीको बाटो बनाउने उद्धेश्यले एउटा व्यवसायमा हात हालेकी छन्, कुखुरापालनको ।
उनी पहिले पनि ४,५ वटा कुखुरा त पाल्थिन तर त्यो घरमा खानका लागि मात्र हुन्थ्यो । तर भविष्यका लागि कुनै आम्दानीको दिर्घकालिन बाटो बनाउनु पर्छ भन्ने बुझेपछि उनले व्यवसायीक रुपमा कुखरा पालनलाई रोजेकी हुन् । उनी भन्छिन्ः विदेशमा श्रीमानले दिनरात मेहनत गरिरहँदा हामी घरमा बस्नेहरु चाहिं त्यहि पैसा खाएर मात्र बस्नु हुन्न भन्ने बुझेपछि मैले यो काम सुरु गरेकी हुँ । उनले अहिले ३२ वटा लोकल कुखुरा पालिरहेकी छन् । त्यसलाई बढाउँदै लैजाने योजना छ उनको ।
कुखुरा पालन त एउटा पाटो भयो । उनी अहिले व्यवसायीक रुपमा तरकारी खेतीमा पनि जुटेकी छन् । बारीमा फलाएका तरकारी उनी हप्तामा दुईदिन (शनिवार र बुधवार) दित्तेल बजारमा हटियामा ल्याएर बेच्छीन । “अहिले म पनि महिनामा ८ हजार कमाउन थालेकी छु मिना भन्छिन् ।
मिना त एउटा उदाहरण हुन् । बैदेशिक रोजगारमा पैसा कमाउन हुने दुःख, त्यसको सदुपयोगको महत्वका बारेमा वित्तिय साक्षरता कक्षामा सहभागि भएर बुझेपछि पछिल्लो समयमा अरु थुप्रै महिलाले यसरी नै कुनै न कुनै आम्दानीको उपाय खोज्न थालेका छन् । यो सह्रानिय काम हो ।