बैशाख–१४, आप्रबासी कामदारहरुको हकहितका क्षेत्रमा काम गर्नका लागि खोटाङमा बिदेशबाट फर्किएका कामदाहरुको आप्रबासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ । आप्रबासी कामदार एवं उनीहरुको परिवारको हकहितका क्षेत्रमा काम गर्ने उद्देश्यले शनिबार आप्रबासी कामदार हकहित संरक्षण केन्द्र गठन गरिएको हो । 
लामो समयसम्म कतारमा बसेर फर्कीएका नेर्पाका माधव राईको अध्यक्षतामा १७ सदस्यीय आप्रबासी कामदार हकहित संरक्षण केन्द्र गठन गरिएको छ । केन्द्रको उपाध्यक्षमा लफ्याङका देबराज घिमिरे, द्धितीय उपाध्यक्षमा नेर्पाका चित्रकुमार राई, सचिवमा याम्खाका डेगराज आचार्य, सह–सचिवमा दिक्तेलका नानीराम खतिवडा र कोषाध्यक्षमा दोर्पाचिउरीडाँडाकी सबिना श्रेष्ठ चयन भएका छन् । 
रोजगारीका सिलसिलामा कतार, साउदीअरब, बहराइन, दुबई, मलेसिया, ओमन, लेवनान, थाइल्याण्ड लगायतका देशमा काम गरेर फर्किएका जिल्लाका युवालाई समेटेर आप्रबासी कामदार हकहित संरक्षण केन्द्र गठन गरिएको हो । केन्द्रले जिल्लाका अन्य गाबिसमा आफ्नो शाखा बिस्तार गर्दै बैदेसिक रोजगार सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने केन्द्रका अध्यक्ष माधव राईले बताउनुभयो । 
बैदेसिक रोजगारलाई सुरक्षित र उपलब्धीमुलक बनाउँदै त्यसक्रममा आइपर्ने समस्यलाई सामुहिकरुपमा हल गर्नका लागि जिल्लामै पहिलोपल्ट केन्द्र गठन गरिएको हो । सामी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल र जनसेवा समाज नेपाल खोटाङको आयोजनामा भएको ‘सुरक्षित आप्रबासन’ सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम समापन कार्यक्रममा केन्द्र गठन गरिएको सार्वजनिक गरिएको छ ।