बैशाख–३१, खोटाङको सदरमुकाम दिक्तेलमा हस्तकला तालिमको आयोजना गरिएको छ । श्रीमान वा परिवारका सदस्य विदेशमा गएपछि मानसिक पीडामा परेका महिलालाई सहभागी गराएर ४५ दिने तालिमको आयोजना गरिएको हो । 
वैदेसिक रोजगारीका सिलसिलामा मानसिक तनावमा परेका महिलालाई तनाव मुक्त बनाउँदै सिर्जनसिल र परिवारमा स्थापित गराउनका लागि हस्तकला तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । सीप विकास तालिम केन्द्र ओखलढुंगाको साझेदारीमा खोटाङ मल्टीपर्पोज टेक्निकल इन्स्टिच्यूट एण्ड कन्सल्टेन्सीले तालिमको आयोजना गरेको कन्सल्टेन्सीका अध्यक्ष राजकुमार राईले जानकारी दिनुभयो । 
कपडाको प्रयोग गरी खेलौना, फूल बनाउने र कपडामा बालुवाबाट चित्र बनाउन सिकाइने तालिममा वैदेसिक रोजगारीका क्रममा ‘डिप्रेसन’मा परेका १३ जना र अन्य गरी ३१ महिलाको सहभागीता रहेको छ । महिलालाई आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको तालिममा श्रीमान विदेश गएपछि परिवार एवं समाजबाट अपहेलनामा परेका महिलाहरुलाई सहभागी गराइएको अध्यक्ष राईको भनाइ छ । 
पीडा, चिन्ता र डरलाई कम गराउँदै आत्मबल बढाउनका लागि मानसिक तनावग्रस्त महिलालाई लक्ष्यीत गरी तालिमको आयोजना गरिएको हो । तालिममा सहभागी महिलाहरुले परिवारबाट अलग भएपनि आफ्नै खुट्टामा उभिन सक्ने आत्मबल बढेको बताएका छन् ।
श्रीमानले साथ नदिए पनि आफै काम गरेर बाँच्न सक्ने आत्मबल बढेको खाल्लेकी चित्रकला श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,–‘कुनै कारणले आफूलाई नहेरे पनि कमाई खाने हुन्छु भन्ने लागेको छ ।’
परिवारका सदस्य बैदेसिक रोजगारीमा गएपछि मानसिक पीडामा परेका महिलालाई मनोसामाजिक परामर्श दिनेक्रममा पहिचान भएका महिलालाई तालिममा सहभागी गराइएको सुरक्षित आप्रवासन परियोजनाका निमित्त कार्यक्रम संयोजक लोकमनी रिजालले बताउनुभयो । वैदेसिक रोजगारीका कारण मानसिक तनावमा परेका महिलाको मनोसामाजिक परामर्शका लागि सुरक्षित आप्रवासन परियोजनाले जिल्लाका दिक्तेल, नेर्पा, खार्मी, हलेसी, खाल्ले, राजापानी, बुइपा र विजयखर्क बाहेक सबै गाविसमा काम गर्दै आएको छ । 
मनोसामाजिक परामर्श सेवा अन्तरगतका सेवाग्राही महिलालाई तालिममा सहभागीताकालागि कन्सल्टेन्सीसँग समन्वय गरिएको परियोजनाले जनाएको छ ।