जेष्ठ–३, जिल्लामा उत्पादित विभिन्न कच्चा पदार्थ धमाधम निकासी हुन थालेको एको छ । अलैची, लोक्ता, अर्गेली, खयर लगायतका सामग्री निकासीले जिल्लाको अर्थतन्त्रमै उल्लेख्य योगदान पुगेको छ । यो वर्ष अलैची मात्र ६० करोड रूपैयाँ भन्दा बढीको निकासी भयो भने, खयर करिब एक करोड २५ लाख रूपैयाँ भन्दा बढीको निकासी भएको श्रोतको दावी छ । 
जिल्ला वन अधिकृत विश्वमणि आचार्यका अनुसार व्यवसायीले जिल्लाका विभिन्न गाविसबाट २३ हजार क्यूबिकफिट खयर निकासी गर्ने पूर्जी लिएका छन् । आचार्यका अनुसार बाहुनीडाँडा गाविसबाट तीन हजार क्यूबिकफिट, सल्लेबाट एक हजार, दुर्छिमबाट चार हजार, धितुङबाट तीन हजार, राजापानीबाट तीन हजार, मङ्गलटारबाट दुई हजार, च्यास्मिटारबाट एक हजार, महादेवस्थानबाट एक हजार, अर्खौलेबाट एक हजार पाँच सय, बतासेबाट एक हजार, डुम्रेधारापानीबाट तीन हजार र देविस्थानबाट पाँच सय क्यूबिकफिट खयर निकासीको पूर्जी लिएका छन् ।
जिल्लाबाट खयर निकासी पूर्जीबाट १७ लाख राजश्व आएको वन अधिकृत आचार्यले जानकारी दिनुभयो । यद्यपि यसमध्ये अधिकांशबाट पूर्जीभन्दा दोब्बर खयर निकासी गरिएको स्थानीयले बताएका छन् । यसमा व्यवसायी, वन कर्मचारी समेतको संलग्नता देखिएको स्थानीयको गुनासो छ । वन अधिकृत आचार्यले भने यसबारे पूर्जीभन्दा बढी खयर निकासी नभएको दावी गर्नुभयो । व्यवसायी जनार्दन रेग्मीले भने पूर्जीभन्दा बढी नहुने बताउनुभयो । उहाँले भन्नुभयो,–‘पूर्जीभन्दा बढी कुनै पनि हालतमा निकासी हुदैन, बरु घटी हुन्छ ।’ 
त्यसो त खयर निकासी गर्दा केही स्थानीय पहुँचवालालाई समेत कमिशन दिनु परेको एक व्यवसायीले बताएका छन् । खयर निकासी गर्दा गाडी रोक्ने र केही कमिशन नदिए लान नपाइने भएकाले तीन प्रतिशतसम्म स्थानीय गुण्डालाई दिनु परेको ती व्यवसायीको भनाइ छ । अघिल्लो वर्ष पनि निकासी पूर्जीभन्दा बढी खयर निकासी भएको थियो । 
जिल्ला वन अधिकृत आचार्यका अनुसार दश हजार नांै सय किलो अर्गेली निकासी गरिएको छ । कतिपय वन पैदावर अवैध रुपमा निकासी भए पनि यसबारे स्थानीय प्रशासन मौन बनेको छ । यसलाई कडाइका साथ प्रशासनले नियन्त्रण गर्नु पर्ने वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
यसबारे प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले नियन्त्रण गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, –‘कानुन भन्दा कुनै तलमाथि हुन दिन्न ।’ कानुनी प्रक्रिया पु¥याएर जिल्लाबाट विभिन्न सामग्री निकासी गर्नु पर्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैजूले बताउनुभयो । यसले जिल्लाको अर्थतन्त्रमा टेवा पु¥याउने भएकाले सबैले चासो दिनु पर्ने सैजूको भनाइ छ ।