चैत्र–२४, खोटाङका पत्रकारले उदयपुरका पत्रकार रामप्रसाद भट्टराई सचिनको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न र पिडितलाई क्षतीपूर्ती दिलाउन माग गरेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र क्रान्तीकारी पत्रकार संघले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई मंगलबार संयुक्त ज्ञापनपत्र पठाउँदै पत्रकार भट्टराईको हत्यामा संलग्न दोषीलाई पत्ता लगाएर कारबाही गर्न र पिडित परिवारलाई क्षतीपुर्तीको व्यवस्था गर्न माग गरेका हुन् । पत्रकार संगठनहरुले घटनाको सत्यतथ्य पत्ता लगाउन छुट्टै छानविन टोली गठन गर्न आग्रह गरेका छन् । 
पत्रकार भट्टराईको मृत्यु भएको १३ दिन बितिसक्दा समेत दोषीको पहिचान हुन नसकेको भन्दै जिल्लाका पत्रकारहरु आन्दोलित बनेका छन् । केही आरोपितहरु पक्राउ परेका भएपनि पत्रकार भट्टराईको मृत्युको कारण अझै पनि खुल्न नसकेको पत्रकारहरुको भनाई छ । ‘दुई हप्ता बित्दा समेत प्रहरी प्रशासनले गहन अनुसन्धानको रिपोर्ट बाहिर ल्याएको छैन,’ संयुक्त ज्ञापनपत्रमा भनिएको छ, ‘यसले समस्त पत्रकारलाई मर्माहत तुल्याएको छ ।’ 
पत्रकार भट्टराईको मृत्युपछि ८१ वर्षका पिता र दुवै आँखा नदेख्ने आमाको विचल्नी भएकाले पनि सहयोगको आवश्यकता परेको ज्ञापनपत्रमा भनिएको छ । मागका विषयमा सरकार गम्भीर नबने कडाभन्दा कडा आन्दोलनमा उत्रिने प्रेस युनियन खोटाङका अध्यक्ष दिलीप खत्रीले बताउनु भयो । पत्रकार भट्टराई चैत्र–११ गते इटहरीमा मृत फेला परेका थिए ।