बैसाख–२, बन्द रहेको लामो समयपछि खोटाङ सदरमुकाम दिक्तेलको कुमारी चलचित्र हल सञ्चालनमा आएको छ । चलचित्र ‘हवल्दार सुन्तली’ प्रदर्शन गर्दै चलचित्र हल सञ्चालनमा ल्याइएको हो । चलचित्र ‘हवल्दार सुन्तली’को नायक किशोर खतिवडाको उपस्थितिमा नयाँ वर्षको अवसरमा मंगलबारदेखि हलमा ‘वान डे रिलिज’ सुरु गरिएको हो । 
दिक्तेलमा दर्शकसँग तस्बिर खिचाउँदै ‘हवल्दार सुन्तली’का नायक किशोर खतिवडा ।
तस्बिरः हाम्रो खोटाङ डटकम
रिलिज भएको लामो समयपछि मात्र जिल्लामा चलचित्र हेर्न पाइने परम्परा तोड्दै रिलिज भएकै दिन फिल्म हेर्ने वाताबरण सिर्जनाका लागि हल सञ्चालनमा ल्याइएको हो । यसकालागि दिक्तेलको हल र काठ्माडौंसँग सिधै आइबक्स ‘सर्भर’ लिंक जडान गरिएको सञ्चालक प्रकाश पुरीले बताउनु भयो । ‘रिलिज भएको लामो समयपछि मात्र जिल्लामा फिल्म आइपुग्ने गरेको छ,’ चलचित्र लेखक रहेका पुरीले भन्नुभयोे, ‘अव भने दर्शकले रिलिज भएकै दिन नयाँ–नयाँ फिल्महरु जिल्लामै हेर्न पाउने छन् ।’ जिल्लामै व्यवस्थित र नियमितरुपमा चलचित्र हेर्ने वातावरण सिर्जना गर्दै नेपाली चलचित्रको बजार विस्तारमा सहयोग पु¥याउने उद्धेश्यले हल सञ्चालनमा ल्याईएको पुरीले बताउनु भयो ।
गत चैत्र–२७ गते रिलिज भएको ‘हवल्दार सुन्तली’ले दिक्तेलमा भने दर्शकको उल्लेख्य साथ पाएको छ । तीन सय दर्शक अट्ने हलमा कतिपय दर्शकले पहिलो शोको टिकट नपाएपछि दोश्रो शो पर्खिन बाध्य भए । स्वयं चलचित्रका नायकको उपस्थिति रहेपछि हलमा दर्शक उल्लेख्य मात्रामा तानिए । खतिवडासँग तस्बिर खिचाउने दर्शकको घुइचो लागेको थियो । ‘फिल्मप्रति दर्शकको राम्रो टिप्पणी छ,’ ‘हवल्दार सुन्तली’का नायक खतिवडाले भन्नुभयोे, ‘दर्शकको उपस्थितिले हामीजस्ता कलाकारलाई उत्साहित नबनाउने कुरै भएन ।’ छविराज ओझाको निर्माण र ऋषी लामीछानेको निर्देशनमा बनेको चलचित्र ‘हवल्दार सुन्तली’मा नेपाल प्रहरीमा कार्यरत सुन्तली धामीमाथि भएको यौनहिंसा समेटिएको छ । 
दिक्तेलमा दर्शकसँग तस्बिर खिचाउँदै ‘हवल्दार सुन्तली’का नायक किशोर खतिवडा ।
तस्बिरः हाम्रो खोटाङ डटकम
कुमारी चलचित्र हल पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित हल भएको दाबी गरिएको छ । कुमारी र मूभीलेण्डहाइभिजन हलमध्ये हाल जिल्लामा मूभीलेण्ड मात्र सञ्चालनमा छ । सदरमुकाम दिक्तेल पुग्ने सडकको पहुँच बिस्तार, सोसल मिडियाको प्रभाव, शैक्षिक संस्थाको बिकास लगायतका कारण जिल्लामा व्यवस्थित हलको सम्भावना रहेको पुरीले बताउनु भयो ।