साउन–३२, भारत सरकारले उपहार स्वरुप नेपाललाई दिएको एउटा एम्बूलेन्स खोटाङको दुर्छिम स्वास्थ्यचौकीले पाएको छ । आफ्नो ६९ औं स्वतन्त्रता दिबसका अवशरमा शनिबार भारत सरकारले दिएको ४० वटा एम्बूलेन्समध्ये एउटा एम्बूलेन्स स्वास्थ्यचौकी दुर्छिमले पाएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. माधव लम्सालले बताउनु भयो । 
किरात, हिन्दु र बौद्धधर्मावलम्बीको त्रि–धार्मिक स्थल नजिक रहेको दुर्छिम स्वास्थ्यचौकीलाई मध्यनजर गर्दै एम्बूलेन्स व्यवस्थाकालागि पहल गरिएको थियो । बिरामी परेका स्थानीय तथा हलेसी आएका दर्थनार्थीको उद्धारमा आइरहेको कठिनाई हल गर्न एम्बूलेन्स सहयोगी बन्ने हलेसी बिकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको पहलमा उपस्वास्थ्यचौकीलाई एम्बूलेन्स दिलाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत मंसिर–५ गते शुक्रबार बिहान दुर्छिम र बडहरेको सिमामा पर्ने गौरी भीरमा भएको जीप दुर्घटनाका घाइतेलाई बोक्ने स्ट्रेचर समेत नपाइएपछि स्वास्थ्यचौकीमा एम्बूलेन्सकालागि पहल सुरु गरिएको प्रजिअ सापकोटाले जनाउनुभयो । एम्बूलेन्स हलेसी लगायत छिमेकी गाबिस दुर्छिम, च्यास्मीटार, बाहुनीडाँडा, बडहरे, मंगलटार, धितुङ, अर्खौले लगायतका बिरामी ओसारपसारमा प्रयोग गरिने जनाइएको छ ।
भारत सरकारले यसपल्ट नेपाललाई ४० वटा एम्बूलेन्स र ८ वटा बस उपहार दिएको छ । भारतीय दूताबासमा शनिबार आयोजित कार्यक्रममा नेपालकालागि भारतीय राजदूत रणजित रेले जिल्ला अस्पताल, नाफा कमाउने उद्धेश्य नभएका परोपकारी तथा शैक्षिक संस्थालाई एम्बूलेन्स र बस हस्तान्तरण गरेका छन् । भारतले सन् १९९४ देखि नेपाललाई एम्बूलेन्स तथा बस दिँदैआएको छ ।