खोटाङ साउन–२८, निर्माण कम्पनीको ढिलासुस्तीले मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङस्थित पङ्खु खोलाको मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाईको पुल तीन वर्र्षदेखि अलपत्र परेको हो ।

२०७५ असार मसान्तमै निर्माण सम्पन्न भइसक्नुपर्ने पङखुखोला पुलको हालसम्म दुई किनारामा पिलर ठड्याउने मात्र काम भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने पङ्खु खोला पुल २ करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले २०७२ असोज ७ गते ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीले करिब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलिखेलका ईन्जिनियर बिश्वबिजयलाल श्रेष्ठको भनाई छ । पुल नबन्दा सवारी साधन मात्र नभर्ई पैदल यात्रुलाई समेत समस्या हुने गरेको स्थानीय सुनाउँछन् ।

बिशेषगरी बर्षायाममा बृद्द–बृद्दा, बिरामी तथा विद्यालय आवत–जावत गर्ने बालबालिकाका लागि खोला बाधक बन्दै आएको छ । बर्षायाममा एम्बुलेन्स् समेत वारीको वारी र पारीको पारी रहने हुनाले आकस्मिक बिरामीलाई उपचारमा लैजान समस्या हुने एकराज बुढाथोकी सुनाउनुहुन्छ ।

पुल अलपत्र बन्नुमा सरोकारवाला निकायको समेत हेल्चेक्र्याई भएको युवा नेता दिलचक्र राईको भनाई छ । जिल्लाबासीको मात्र नभई संखुवासभा, भोजपुर लगायतका यात्रुका लागि काठमाण्डौं जाने–आउने एउटै महत्वपूर्ण नाकाको रुपमा रहेको लोकमार्गमा एउटा पुल बाधक बन्नु नहुने राईको तर्क छ । उक्त पुल अलपत्र बन्नुमा निर्माण कम्पनीसँगै योजनासम्बद्द कार्यालय लगायत सरोकारवाला निकायको पनि लापारबाही रहेको उहाँको दाबी छ । लोकमार्गको उक्त खण्डमा अन्य प्राय ः सबैजसो मोटरेवल पुलहरु सञ्चालन भईसकेका छन् ।

पुल निर्माणका लागि निर्माण कम्पनिलाई बारम्बार ताकेता गरिरहे पनि अटेर गर्दै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईले जनाउनुभयो । अव तत्कालै निर्माण कम्पनी सम्बद्द ब्यक्तिहरुलाई पूनः ताकेता गरेर नगरपालिकाले गर्नुपर्ने काम तथा कार्वाही अघि बढाउने उपमेयर राईले बताउनुभयो ।

पङ्खु खोला पुलको दोश्रोपल्ट थप भएको म्याद समेत २०७७ साल असारमै सकिएको थियो ।।