खोटाङ साउन–१९,  खोटाङस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याईएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डमा साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्की पुल सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिपु्रङ चुइचुम्मा गाउँपालिका जोड्ने सडक खण्डमा अवस्थित साप्सुखोलामा पाँच करोड ६० लाख दश हजार रुपैंयाँ लागतमा पुल निर्माण गरिएको हो । २०७६ असारमा शिलान्यास गरिएको पुल निर्माणको लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिपुु्रङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेट खर्च भएको छ । पुल निर्माणको लागि स्थानीय सडक पुल सहयोग कायक्रम (एलआरबीपी)ले प्राविधिक सहयोग गरेको छ ।

२०७८ जेठ १७ गते सम्पन्न गर्नेगरी २०७६ जेठ १७ गते सुर्य एण्ड सन्स प्रालिले निर्माणको जिम्मा लिएको ४० मिटर लामो उक्त पुल तोकिएको समय अगावै निर्माण भएको हो । पक्की पुल सञ्चालनमा आएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको दिपु्रङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । पुल सञ्चालनमा आएपछि आफ्नो गाउँपालिकासँगै दक्षिणी क्षेत्रमा बिकासको मुल ढोका खुलेको अध्यक्ष राईको भनाई छ । पुललाई मनमायाँ राई खानीडाँडा विमानस्थललाई सिधा सडक सञ्जालमा जोड्ने गरी निर्माण गरिएको छ ।

तराईका जिल्ला जोड्ने सडकखण्ड अन्र्तगत दक्षिणी क्षेत्रमा पर्ने साप्सुखोलामा यो सँगै तीन वटा मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । सगरमाथा राजमार्ग अन्तरगत दिक्तेल–गाइघाट सडक खण्डमा पर्ने रेग्मिटारस्थित साप्सुखोलामा एक नम्बर तथा दिक्तेल र मात्तिम जोड्ने साप्सुखोलामा दुई नम्बर मोटरेबल पक्की पुल यसअघि नै सञ्चालनमा आएको छ ।।