खोटाङ । खोटाङमा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेला भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा बहुमतबाट निर्वाचित अर्का अध्यक्ष माधव नेपाल पक्षधरहरुको सहभागिता नरहेको जनप्रतिनिधीहरुको भेलाले पार्टी विखण्डनका विरुद्धमा उभिने उदघोष गरेको छ ।

ओली निकट जिल्लास्तरीय जनप्रतिनिधीहरुको भेलाले खोटाङको पार्टीलाई जनस्तरसम्म सशक्त रूपमा पुर्याउने र जनताको विकास र समृद्धिको सपना पुरा गर्न सशक्त रूपमा काममा जुट्ने संकल्प गरेको सांसद विशाल भट्टराईले जनाएका छन् ।

भेलामा सांसद भट्टराईका साथै जिल्ला समन्वय समितिकी उपप्रमुख गोमा खत्री सहित छ जना सदस्यहरु, दिक्तेल रुम नगरपालिका, रावाबेसी, खोटेहाङ, जन्तेढुङाका प्रमुख तथा अध्यक्ष र केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी, दिक्तेल रुम, खोटेहाङ, जन्तेढुङा, बाराहपोखरीका उपप्रमुख÷उपाध्यक्ष सहित हलेसी तुवाचुङ, साकेला, दिप्रुङ चुइचुम्माका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरुको उपस्थिति रहेको थियो । भेलामा प्रचण्ड–नेपाल पक्षधर प्रदेश सांसदहरु रामकुमार राई पासङ, राजन राई, उषाकला राई, जिल्ला समन्वय समिति प्रमुखसहित जनप्रतिनिधीहरु उपस्थित रहेनन् ।