खोटाङ । खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले आगामी हिउदमा खोटाङको बंशिलाघाटदेखि चिसापानी सडक पक्की बनाउने कार्यको थालनी गरिने उद्घोष गर्नु भएको छ ।

जन्तेढुङ्गा गाउँपालिकाबाट शुरु भएको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै उहाँले सडक विभाग अन्तरगत सो योजना सञ्चालन हुने जानकारी गराउनु भएको हो । उहाँले विगतमा आफ्नो प्रयास र छनौटको आधारमा बंशिला चिसापानी सडकको ट्रयाक खुलेको स्मरण गराउदै जिल्लामा हाल १२ वटा भन्दा बढी पक्की पुल निर्माण हुने चरणमा रहेको जनाकारी गराउनु भयो । खोटाङ जिल्लाको विभिन्न स्थानमा टेलिकमको टावर बनेको चर्चा गर्दै अब जुनसुकै स्थानमा फोन चल्ने अवस्था प्रति खोटाङका नागरिकलाई बधाई दिनुभयो ।

स्वास्थ्य सेवाको विस्तारको क्रममा साविकमा चिसापानी प्राथमिक स्वाथ्य केन्द्रको अवस्था र हालको अवस्था सिंहावलोकन गर्दै उहाँले यसलाई प्रगतिको रुपमा लिन पर्ने बताउनु भयो । गाउपालिकाको करिव १० लाख लागतमा सो इकाइ निर्माण भएको हो । हाल सो केन्द्रमा मेडिकल अधिकृतले सेवा पुर्याइरहेका छन् । छिट्टै चिसापानी स्वास्थ्य केन्द्र अस्पतालको रुपमा स्तरोन्नति गर्नको लागि संघीय सरकारबाट करिव साढे ३ करोडको बजेट प्राप्त भई गाउँपालिकाबाटै टेण्डर हुने सांसद भट्टराईले जानकारी गराउनु भयो । सो क्रममा उहाँले जन्तेढुङ्गा गाउँपालिकाका गौरवका आयोजनाहरु विद्युत, खानेपानी र प्रशासकीय भवनको निरीक्षण समेत गर्नु भयो ।

जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राई, उपाध्याक्ष विमला राई, नेकपा जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य खेम कार्की लगायतले स्वास्थ्य इकाई तथा विकासको सन्दर्भमा सो कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।