खोटाङ असोज–१८, यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करणअन्तर्गत पहिलो चरणको छनौट सम्पन्न भएको छ । अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिएको प्रतियोगिताको पहिलो चरणवाट ५० जना किरात राई गायन प्रतिभाहरु छानिएका छन् ।
किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले आयोजना गर्दै आएको यस श्रृंखलामा पहिलो चरणमा १० देशका २ सय १३ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । सो मध्येवाट ५० जना छनौट गरी संस्थाको आधिकारिक किरात राई कलाकारबाट सार्वजानिक गरिएको प्रतियोगिताको प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईले वताउनुभयो । प्रतियोगिताका लागि गत भदौ–२५ देखि गीत पठाउन सकिने व्यवस्था मिलाईएको थियो ।
वार्षिक रुपमा राष्ट्रव्यापी वनाउँदै आएको प्रतियोगितालाई कोरोनाका कारण यो वर्ष विश्वव्यापी अनलाईन रुपमा सञ्चालन गरिएको प्रचारप्रसार संयोजकको भनाई छ । प्रतियोगितालाई सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको संघका केन्दीय अध्यक्ष रामकर राईले वताउनुभयो । किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्दन तथा उत्थानको लागि प्रतियोगिताको आयोजना गरिने अध्यक्ष राईले उल्लेख गर्नुभयो ।
प्रतियोगिताका लागि सहभागी किरात राई समुदायका हुन अनिवार्य, प्रतियोगीले प्राकृतिक अर्थात वास्तविक गायकी भएको आवाजसँगैको एमपीफोर फाईल भिडियो आयोजकको ईमेल ठेगानामा पठाउनुपर्ने जस्ता नियमहरु यस अघि सार्वजानिक गरिएको थियो ।
साप्ताहिक रुपमा छनौट गरी प्रतियोगीहरुलाई उत्कृष्ट १० मा सिमित गर्दै अन्तिम चरणको प्रतिस्पर्धा गराईने आयोजकले सार्वजानिक गरेको नियममा जनाईएको छ । किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा अनुशासन तथा गायन र किरात राई समुदायप्रतिको प्रतिवद्दतालाई समेत मूल्याङ्कन गरिने संस्करणको संयोजक गायक तथा संगीतकार राई नविनले सुनाउनुभयो ।
प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ ।
यलम्वर संगीतको पहिलो संस्करणको उपाधी सागर संसार राईले जित्नुभएको थियो । यस्तै, दोश्रो संस्करण निश्चल राई र तेश्रो संस्करणमा नम्रता राईको नाममा प्रथम उपाधी गएको थियो । किरात राई समुदायका प्रतिभाहरुका लागि प्लेटफर्मका रुपमा स्थापित हुँदै आएको प्रतियोगितको चौथो संस्करणमा सोनाम राई प्रथम वन्नुभएको थियो । गत वर्ष अर्थात पाँचौं संस्करणमा भने अम्विका राईले प्रथम स्थान ओगट्नुभएको थियो ।
(दोश्रो चरणका लागि छनौट हुने प्रतियोगीहरुको नामावली)