
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले विश्लेषक तथा बौद्धिक व्यक्तित्व हरि रोकालाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
रोका बौद्धिक व्यक्तित्वको रुपमा स्वच्छ छवि बनाएका व्यक्ति हुन् । उनी बाम तथा अर्थ विश्लेषकका साथै लेखकका रुपमा पनि परिचित छन् । उनी यसअघि संविधासभा सदस्य समेत भएका थिए । उनै रोका पुनः खोटाङबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका हुन् ।
यता, नेकपा एमालेले देव विक्रम राईलाई अघि सारेको छ । उनी नेकपा एमाले खोटाङका अध्यक्ष हुन् । खोटाङमा यसअघि नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) का रामकुमार राई (पासाङ) ले चुनाव जितेका थिए भने त्यसअघि एमालेका विशाल भट्टराईले चुनाव जितेका थिए ।
खोटाङमा नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस तीन पार्टीको उस्ताउस्तै उपस्थिति रहेको छ । एमाले र कांग्रेसभित्रको विवाद र आफैं पनि हेभिवेटका उम्मेदवार भएका कारण रोकाको सम्भावना निक्कै उच्च रहेको छ ।
नेपाली कांग्रेस लगायतका दलले खोटाङमा उम्मेदवारी टुंगो लगाउने प्रयास जारी राखेका छन् । कांग्रेसभित्र आधिकारिकताका विषय अदालतसम्म पुगेकाले केही समय लाग्ने देखिएको छ ।
