
खाेटाङ । किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष समेत रहेका माओवादी नेता रामकुमार राई पासाङले दलाल तथा एकलजातीय पुँजीवादी शत्रुहरुले रातारात प्रदेश नाम कोशी थोपरेकाे बताएका छन् ।
निवर्तमान सांसद समेत रहेका उनले प्रदेश ५, ६, ७ र ३ मा पहिचान विरोधी नाम थोपर्दा विद्रोह नहुँदा पुर्वमा काेशी राख्न सहज भएकाे उल्लेख गरेका छन् ।
हेर्नुहाेस् उनले फेसबुकमा लेखेकाे अपिल
सार्वजनिक आत्मालोचनासहित रुपान्तरणको अपील
भौतिकवादी द्वन्दवादको नियम पालना गर्ने कुनै पनि जिम्मेवार संगठन र व्यक्तिले गल्ती कमजोरी हुनासाथ आन्तरिक मामिला भए संगठनभित्र तथा जनतासंगको मामिला भए सार्वजानिक रुपमा आत्मालोचना गर्न सक्नु पर्दछ। गल्ती कमजोरीमा किटानीसाथ आत्मालोचना र रुपान्तरण प्रतिबद्वताको आचारण बाहेक क्रान्तिकारीसंग अर्को शक्ति हुँदैन। तदनुसार क. गोपाल किरातीको नेतृत्वमा २०४९ मा स्थापित खरामो र २०५८ मा रुपान्तरित किराती राष्ट्रिय मुक्तिमोर्चा, जसको सर्वोच नेता क. प्रचण्ड रहँदै आउनु भएको छ, क्रान्तिकारी जनताको राजनीतिक संगठन हो। जसले, व्यवहारमा आफ्नो क्रान्तिकारिता सावित गर्नुपर्ने चुनौति निरन्तर छ।
उपरोक्त पृष्ठभूमिमा मुख्यतः प्रदेश १ कोशी नामाकरण र त्यस विरुद्व संचालित आदिवासी तथा प्रगतिशील जनताको पहिचान आन्दोलनमा हाम्रो मोर्चा संगठनले जुन स्तरमा योगदान गर्नु पर्दथ्यो र सकिन्थ्यो पनि, तर गरिएन वा सकिएन। त्यसमा आफैप्रति खेद प्रकट गर्दै विशेषतः किराती जनता समक्ष निम्न सार्वजानिक आत्मालोचनासहित मोर्चा केन्द्रीय कार्यालय रुपान्तरणको दृढ प्रतिबद्वता गर्दछ।
१. प्रदेश ४ मा तमुवानलाई कुल्चेर सुरुमै गण्डकी नाम थोपरे। त्यस विरुद्व मोर्चा संगठनले विद्रोह बोल्नु पर्दथ्यो। क्रमश: प्रदेश ५, ६, ७ र ३ मा पहिचान विरोधी नाम थोपर्दा विद्रोहको झण्डा उठाउनु पर्दथ्यो। त्यसरी ऐन मौकामै विद्रोह बोल्न सकिएको भए सम्भवतः पूर्वमा कोशी नाम थोपर्ने दुस्साहस कसैले गर्दैनथे कि? तर, दु:खका साथ भन्नुपर्छ, त्यो ऐतिहासिक अवसर मोर्चा संगठनले चुकाइयो। परिणामस्वरुप दलाल तथा एकलजातीय पुँजीवादी शत्रुहरुले रातारात प्रदेश नाम कोशी थोपरे।
२. हाम्रो मोर्चा संगठन समर्थित तत्कालीन नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले कोशी नाममा मतदान गर्नु गम्भीर सैद्वान्तिक विचलन थियो। त्यस कार्यमा आफू सहभागी नरहे पनि तत्कालीन मोर्चा केन्द्रका अध्यक्ष क. बाशुले जुन रफ्तारमा प्रतिरोध संघर्षको योजना अघि सार्नु पर्दथ्यो, त्यो पनि हुन सकेन।
परिणामस्वरुप प्रदेश नाम कोशी खारेज आन्दोलनमा मोर्चा संगठनको घटक नाम झुन्ड्याउने कामसम्म त साथीहरुले गर्नु भयो, तर किराती मोर्चाले विगत सशस्त्र आन्दोलन र प्रथम संविधानसभा निर्वाचनमा जसरी जुझारु दस्ताको इतिहास रचेको थियो, त्यस किसिमको उल्लेखनीय योगदान गर्न सकिएन।
३. मोर्चा संगठन सम्बद्वहरु, जो संघीय प्रतिनिधिसभामा सदस्य थियौं, ले पनि प्रदेश नाम कोशी खारेज आन्दोलनमा प्रखरतापूर्वक भूमिका खेल्नु पर्दथ्यो, औपचारिकतामा सीमित रहियो।
उपरोक्त गल्ती कमजोरीको भारले थिचिनु पर्दा जनसमुदायमाझ मोर्चा संगठनको छवी धार बिनाको हतियार अनुभूत भइरहेको छ। हाम्रा सामु प्रश्न छ, यस्तो द्विविधापूर्ण वस्तुस्थितिमा मोर्चा संगठनले आफ्नो राजकीय पहिचानसहित समाजवादी लोकतन्त्रको आगत कार्यभार उठान गर्न कसरी सकिएला?
तसर्थ आजकै दिनदेखि त्यस्तो वैचारिक- राजनीतिक, सांगठानिक तथा आचारणगत गल्ती कमजोरी नदोहर्याउने, संगठनका कसैले त्यस्तो गल्ती गरेमा गम्भीर कार्वाहीको भागिदार बनाउने नयाँ संकल्पसाथ मोर्चा संगठनले जनसमुदायमाझ उपरोक्त तीन बुँदे सार्वजानिक आत्मालोचना गर्दै संगठनको वैचारिक-साँस्कृतिक काम अन्तर्गत यस आत्मालोचनालाई एक अभिन्न अंगको रुपमा जनसमुदायमा स्थापित गर्नु पर्दछ। तदनुरुप संगठनका प्रत्यक इमानदार सदस्यले देश, जनता, वर्ग र समुदाय पक्षधर क्रान्तिकारी रुपान्तरणमा जोड दिँदै पहिचानसहित समाजवादको लक्ष्यमा दृढतापूर्वक डट्न मोर्चा केन्द्रीय कार्यालय विशेष अपील गर्दछ।
अभिवादनसहित!
रामकुमार राई (पासाङ)
अध्यक्ष, किराती राष्ट्रिय मुक्तिमोर्चा, नेपाल
केन्द्रीय समिति
१६ मंसीर २०८२
